डोल्पाको ठूलीभेरी नगरपाालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सदरमुकाम दुनैस्थित शान्ति टोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन् ।
ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको बाढीपहिरोले नन्नाकुमारी विकको एकतले कच्ची घरलाई पूर्णरूपमा क्षति पुर्याएको छ । धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ ।
यस्तै, कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिए । उनका अनुसार २४ जनाको घरखेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झण्डै १ करोड ५० लाख बराबरको क्षति भएको पाइएको प्रहरीले सार्वजनिक गरेको क्षति मूल्यांकन विवरणमा उल्लेख छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतिबारे जानकारी गराएकी थिइन् । सदरमुकाम दुनै उच्च जोखिममा भएको भन्दै दुनै बचाउ अभियानमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ । यो भन्दा अगाडि गरिएको कामसमेत परिणाममुखी नहुँदा समस्या हुँदै आएको सांसद पहाडीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।