राजाको सम्बोधन ड्राफ्ट मैले गरेँ भनेर ओलीले झुटो बोलेः रामचन्द्र पौडेल
'कांग्रेसलाई एक्लो पारेर महागठबन्धन बनाउने कोशिस भइरहेको छ'

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्लो बनाएर कम्युनिस्टहरू एकता गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रिय शक्ति र नेपालका कम्युनिस्ट एकतावद्ध भइ नेपाली कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको बताए । 

वरिष्ठ नेता पौडेलले गठबन्धन आजको आवश्यकता भए पनि आगामी चुनावमा कम्युनिस्ट एक ठाउँमा उभिएर कांग्रेसलाई एक्लो बनाउने काम भइरहेको दाबी गरे । 

उनले भने, ‘नेपाली कांग्रेसलाई एक्लो पारेर यो मुलुकमा अरू सबैलाई एकै ठाउँमा राखेर महागठबन्धन गराउने कोशिस भइरहेका छन् । यो प्रयास नेपाली कांग्रेस र प्रजातन्त्रलाई कमजोर पार्ने कोशिस हो भनेर बुझ्न जरुरी छ । हामीले चुनावी तालमेल मात्र गरेका हौँ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’

उनले नेपाललाई अहिले स्थिरता, सुशासन र विकास चाहिएकोले आगामी चुनावसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले माओवादी, एकीकृत समाजवादी लगायतका कम्युनिस्ट दलहरू कम्युनिस्ट एकता गरेर अघि बढ्ने योजनामा रहेको बताए  । 

वरिष्ठ नेता पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सार्वजनिक कार्यक्रममा दिएको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले लेखेको भन्ने कुरा झुटो रहेको दाबी गरे । 



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत असार २४ गते एक सार्वजनिक कार्यक्रममा २०६३ सालको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले ड्राफ्ट गरेको दाबी गरेका थिए । 

वरिष्ठ नेता पौडेलले यस्ता गलत सूचनाहरु हुन नदिन सञ्चारमाध्यमले भुमिका खेल्नुपर्ने बताए । उनले केपी ओलीले नाटकीय रुपमा फलानो रुखमुनि बसेर सम्बोधन ड्राफ्ट गरेको भने पनि त्यसबेला ओली कुनै आन्दोलनमै नरहेको दाबी गरे । गलत सूचना दिएर जनतालाई दोधारमा पारिएको र कांग्रेसलाई मिस अण्डरस्ट्याण्डिङको शिकार बनाउन खोजिएको आरोप लगाए । 



वरिष्ठ नेता पौडेलले पार्टीभित्रको आन्तरिक एकतालाई विशेष जोड दिएर जान जरुरी रहेको बताए ।
 

  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार १६:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया