कर्मचारीको करार म्याद थप नगर्ने निर्णयविरुद्ध गाउँपालिका कार्यालय घेराउ

करारका कर्मचारीको करार अवधि थप नगर्ने निर्णयको विरोधमा एमालेले खोटाङको जन्तेढुंगा गाउँपालिको कार्यालय घेराउ गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमालेका जनप्रतिनिधिले नियुक्त गरेका करारका ८१ जना कर्मचारीको १ साउनदेखि लागू हुनेगरी करार अवधि थप नगर्ने निर्णयविरुद्ध एमाले जन्तेढुंगा गाउँपालिका कमिटीले सोमबार बिहान १० बजेदेखि गाउँपालिकाको कार्यालय घेराउ गरेको हो ।

करारका कर्मचारी नहटाउन भन्दै गाउँपालिकाका सबै वडा कार्यालयमा तालाबन्दी गरेको एमालेले गाउँपालिकाको कार्यालय घेराउ गरेको हो । यसअघि वडा कार्यालयहरूमा लगाइएको ताला बिना वार्ता र सहमति फोडेर खुलाइएकाले गाउँपालिकाको कार्यालय घेराउ गरिएको एमालेका जिल्ला कमिटी सचिवालय सदस्य शंखरबहादुर राईले बताए । 

एमाले नेता तथा कार्यकर्ताले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई कार्यालय भित्र प्रवेश गर्न नमिल्ने गरी छेकेर बसेका थिए । एमालेका नेता तथा कार्यकर्ता तीन घण्टाका लागि गाउँपालिकाको कार्यालय घेराउमा बसेका थिए, तर सोमबार बिहान ११:१५ बजे कार्यालय प्रवेश गरिएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए । 

६ वडामध्ये एमालेले साउन २ गते जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय र ३ साउनमा अन्य वडामा ताला लगाएको थियो । त्यसमध्ये डम्बर्खुशिवालयमा लगाइएको ताला भने हालसम्म खोलिएको छैन । तर, अन्य वडा कार्यालयमा लगाइएको ताला खोलिएको भन्दै एमाले पुन: आइतबारदेखि वडा कार्यालयमा तालाबन्दीमा उत्रिएको छ ।

एमालेले तालाबन्दी गरेपछि सेवाग्राही भने मारमा परेका छन् । 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १२:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया