महाभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुख सापकोटाको आग्रह
फाइल तस्वीर

सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गरेका छन् । 

२२ साउनमा प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग, महाअभियोग सिफारिस समितिमा पठाएको थियो । तर, हालसम्म सिफारिस समितिले काम शुरु गरेको छैन । यही बेला सभामुख सापकोटाले सिफारिस समितिका उपलब्ध सदस्यहरूको सहजीकरण बैठक राखेर यस्तो आग्रह गरेका हुन् । 

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार महाअभियोग सिफारिस समितिको सहजीकरणका लागि सभामुखले बैठक राखेका हुन् । सहजीकरण बैठकमा समितिका ११  सदस्यमध्ये आठ जना उपस्थित थिए ।

संघीय संसद सचिवालयका महासचिव र सचिव लगायतको पनि उपस्थिति रहेको थियो । महाअभियोग सिफारिस समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ । बैठकमा सभामुख सापकोटाले महाअभियोगबारे प्राप्त जिम्मेवारी छिट्टै सम्पन्न गर्न आग्रह गरेका हुन् । 

समितिमा विष्णु पौडेल, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह छन् । संसद सचिवालयको रेकर्डका अनुसार रामबहादुर विष्ट यो समितिका जेष्ठ सदस्य हुन् ।

उनकै नेतृत्वमा पहिलो बैठक बस्नेछ । पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि तय गर्ने, संयोजक तोक्ने लगायतका कार्य गर्ने समितिका सचिव गौतमले बताए । तर, पहिलो बैठक बस्ने मिति तय भएको छैन ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १६:१४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया