तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई विप्लव माओवादीको ज्ञापनपत्र

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी खोटाङले ०७७ साल फागुन २१ गते नेपाल सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी खोटाङका सेक्रेटरी सञ्जीव लुंगेली मगरले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै ‘नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने’ सहमति कार्यान्वयनको माग गरेका छन् ।

सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्तालाई गत १६ साउनमा ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरेको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ ।

उक्त पक्राउ पुर्जी नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिको विरुद्धमा भएको र मुलुकलाई जबरजस्त द्वन्द्वमा धकेल्ने नियोजित मनसायमा आधारित रहेको ज्ञापन–पत्रमा उल्लेख छ ।

‘सहमतिअनुसार हालसम्म पनि जेलमा रहेका नेता, कार्याकर्तालाई रिहाइ गरिएको छैन । झुट्टा मुद्दा खारेज गरिएको छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहलाई बुझाइएको ज्ञापन–पत्रमा भनिएको छ, ‘उल्टै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषमलगायतका नेता कार्यकर्तालाई गत १६ साउनमा ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको छ ।’ 

नेपाल कम्युनिस्ट पार्टीले सरकार समक्ष भ्रष्टाचार र असिमित रुपमा बढिरहेको मूल्यावृद्धि नियन्त्रणको माग गरेको छ । ‘देश चरम मूल्यावृद्धि र भ्रष्टाचारको दलदलमा फसेको छ । चौतर्फी क्षेत्रमा व्याप्त भ्रष्टाचारले गर्दा देश कंगालीकरणतर्फ धकेलिएको छ । चर्को मूल्यावृद्धिका कारणले जनताको जीवन कष्टकर बन्दै गएको छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘अतः तत्काल भ्रष्टाचार रोक्ने र असिमित रुपमा बढिरहेको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दछ ।’ 



ज्ञापन–पत्रमा नेपालको सामरिक महत्वको भूगोलमाथि आफ्नो हस्तक्षेप कायम गरेर राजनीतिक तथा सैन्य अतिक्रमणलाई मजबुद बनाउने उद्देश्यमा आधारित एमसिसी सम्झौता र एसपिपी परियोजना खारेज गर्न माग गरेको छ । यस्तै, विगतमा भएका राष्ट्रहित विपरीतका असमान सन्धि तथा सम्झौता खारेज गर्न माग गरिएको छ । 



  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार १८:४८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया