२० भदौभित्र एकीकृत समाजवादीले उम्मेदवार टुंग्याउने, माओवादीसँग एकता गर्न समिति गठन गर्ने
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीले २० भदौभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने भएको छ । केन्द्रीय सचिवालय बैठकले यसका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले १० भदौभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्ने, जिल्ला कमिटीले १२ भदौभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्ने र प्रदेश कमिटीले १५ भदौभित्र केन्द्रमा सिफारिस गरिसक्नुपर्ने महासचिव भुसालले जानकारी दिए । 

यसपछि २० भदौमा बस्ने केन्द्रीय कमिटीले प्रदेश कमिटीको सिफारिसका आधारमा उम्मेदवारको नाम टुंगो लगाउने उनले बताए । समानुपातिक र पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीका लागि उम्मेदवार नाम सिफारिस गर्दा अपनाउनुपर्ने मापदण्ड बैठकले बनाएको छ ।

महासचिव भुसालका अनुसार पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको,  विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको,  पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको,  जनतामा स्थापित एवं लोकप्रिय,  स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको र सक्रिय  र  समावेशीताको सिद्धान्तविपरित नहुने मापदण्ड उम्मेदवारको सिफारिसका लागि मापदण्ड बनाइएको छ । 

यसैबीच एकीकृत समाजवादीको सचिवालय बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्न ‘पार्टी एकता संयोजन समिति गठन गर्ने’ निर्णय गरेको महासचिव भुसालले जानकारी दिए । 

‘एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरु सम्मिलित एउटा पार्टी एकता संयोजन समिति गठन गर्ने, जसले दुई पार्टी बीचको एकता र सिंगो नेपाली कम्युनिष्ट आन्दोलनको एकताका सम्बन्धमा छलफल, बहसलगायतका कार्यहरु गरी एकताको वातावरण निर्माण गर्नेछ,’ बैठकको निर्णयबारे जानकारी दिँदै भुसालले जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार १६:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया