एमालेका ठूला नेतालाई युवाको चुनौती : ओलीलाई टक्कर दिन तामाङ, पोखरेलविरुद्ध पराजुली

तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्दा सबैभन्दा सुरुमा सडकमा प्रचण्ड–माधव खेमाका विद्यार्थी नेताहरू रञ्जित तामाङ र सुदेश पराजुली सडकमा आएका थिए । विद्यार्थी राजनीतिबाट खारिएर आएकी युवा नेता तामाङ र पराजुली गहकिलो भाषण, तार्किक बहस र आन्दोलनको नेतृत्व गर्न कुशल मानिन्छन् । 

तत्कालिन समयमा ओलीको सरकारको दोश्रो दर्जाका मन्त्री थिए इश्वर पोखरेल । अहिले ओलीको पार्टी नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्षसहित पोखरेल दोश्रो दर्जामा नै छन् । युवा नेता तामाङ र पराजुलीले केपी ओली र ईश्वर पोखरेललाई ‘प्रतिगमनका नाइके’ भनेर आलोचना गर्छन् । 

यिनै दुई युवा नेता तामाङ र पराजुलीले ओली र पोखरेलविरुद्ध चुनाव लड्ने घोषणा गरेका छन् । सत्ता गठबन्धनले आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओलीलाई जसरी पनि चुनाव हराएर ‘साइज’मा ल्याउने रणनीति लिएको छ । सत्तासीन दलको सिट बाँडफाँटका लागि बनेको कार्यदलका संयोजक कांग्रेस नेता कृष्ण सिटौलाले तामाङलाई उम्मेदवार बनाउन प्रस्ताव गरिसकेका छन् ।

 ‘ओलीलाई हराउन ओलीकै शैलीमा भाषण गर्न सक्ने र युवा चाहिन्छ’, सिटौलाको भनाइ उद्धृत गर्दै एक कार्यदल सदस्यले भने, ‘रञ्जित तामाङले ओलीलाई हराउन सक्छन्, उनैलाई टिकट दिनुपर्छ ।’ प्रचण्डले पनि तामाङलाई टिकट दिने आश्वासन दिएका छन् । प्रचण्डले आफ्नो वचन पूरा गरे झापा–५ को चुनाव केही रोचक हुने देखिन्छ । 

‘जसबाट हामीले देशको विकास र समृद्धिको अपेक्षा गर्यौं उसैले विकास र समृद्धिको विरुद्ध धावा बोल्यो त्यहीँबाट म चुनाव लड्न चाहन्छु,’ तामाङले भने, ‘गठबन्धनलाई टिकट दिन अनुरोध गरेको गरेको छु, हामी विधि र पद्धतिमा छौँ । कुनै स्वतन्त्र उम्मेदवारले घोषणा गरे जस्तो गरेर हिँड्न मिल्दैन ।’

तामाङ माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् । पुसमा सम्पन्न माओवादी महाधिवेशनबाट उनी पार्टी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । यसअघि ०७४ मा ओलीसँग काँग्रेसका डा. खगेन्द्र अधिकारी चुनाव लडेका थिए । ओली ५७ हजार १ सय ३९ मत ल्याएर निर्वाचित हुँदा अधिकारीले २८ हजार २ सय ५७ मत पाएका थिए । 



नेकपा एकीकृत समाजवादी, काठमाडौं क्षेत्र नम्बर ५ कमिटीले पनि प्रतिनिधिसभा सदस्यका लागि अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नाम सिफारिस गरेको छ । काठमाडौं–५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो । सो क्षेत्रमा पराजुलीले यसअघिदेखि नै निर्वाचन लड्ने बताउँदै आएका थिए । 

स्रोतका अनुसार समाजवादीले काठमाडौंमा जीवनराम श्रेष्ठ र पराजुलीलाई सुरक्षित गर्न खोजेको छ । निर्वाचनको मिति घोषणापछि पराजुली र माओवादी युवा नेता तामाङले आफ्नो निर्वाचन क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू, सामाजिक अभियन्ता, गठबन्धन दलभित्रका नेता कार्यकर्तासँगको भेटघाट बढाएका छन् ।



०७४ को निर्वाचनमा पोखरेल यही क्षेत्रबाट निर्वाचित भएका थिए । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष समेत रहेका पराजुलीले पोखरेलसँगै चुनावी प्रतिस्पर्धा गर्न लागेका हुन् ।

पोखरेल ०७४ को निर्वाचनमा कांग्रेस उम्मेदवार प्रकाशशरण महतलाई हराउँदै निर्वाचित भएका थिए । पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १६९ मत मात्र पाएका थिए । तर, यो पटक पाँच दलीय गठबन्धन हुँदा पोखरेललाई जित निकाल्न कठिन हुने देखिन्छ ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ मा एमाले स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरूले १९ हजार ७ सय ३ मत पाएका छन् । त्यस्तै, कांग्रेसले १४ हजार ८ सय ५३, माओवादीले ११ सय ६८ र एकीकृत समाजवादीले १८ सय २७ मत पाएका छन् ।

राप्रपाको २८ सय २२ मत छ, यो क्षेत्रमा राप्रपाको मत निर्णायकसमेत मानिन्छ । त्यस्तै, क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दिने भएकाले पनि पोखरेललाई चुनाव जित्न चुनौती हुनसक्छ ।

०५६ सालमा निर्वाचन प्रचारकै क्रममा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको निधन भएपछि ईश्वर पोखरेललाई सोही क्षेत्रमा उम्मेदवार बनाइएको थियो । त्यसबेला पनि उनले चुनाव जितेका थिए । २०६४ र २०७० सालमा भने पोखरेलले चुनाव हारे । त्यसबेला कांग्रेसका नरहरि आचार्य विजयी भएका थिए ।   

  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १५:१५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया