कार्यदलले गर्यो धनुषाका मिटरब्याजी पीडितहरूसँग छलफल

मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलले धनुषाका मिटर ब्याजी पीडितहरूसँग छलफल गरेका छन् । गृह मन्त्रालयले गठन गरेको कार्यदलले पीडितहरूसँग छलफल गरेका हुन् ।
 
कार्यदलका संयोजक एवं गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालले पीडितको समस्याको गहिराईसम्म पुग्नका लागि पालिकाहरुको महत्वपूर्ण योगदान रहेको बताए । 

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मिटरब्याजीसम्बन्धी मुद्दाहरु दर्ता हुँदै आएको र गृह मन्त्रालयको निर्देशन पश्चात धनुषामा हालसम्म १९२ वटा मुद्दा दर्ता भएको जानकारी दिए ।

कार्यक्रममा सहभागी पीडितले आफूहरूले साहु महाजनसँग लिएको ऋणको फाइदा उठाउँदै तीन÷चार गुणासम्म मनपरी रुपमा कपाली तमसुक बनाउने गरेको गुनासो गरे । 

बाध्यतात्मक परिस्थितिको फाइदा उठाउँदै साहु महाजनले पीडितले रकम चुक्ता गरिदिएपनि तमसुक बमोजिमको रकम माग गर्दै अदालतमा मुद्दा दिने र घरजग्गा कब्जा गर्ने लगायतका दुःख दिइरहेको सुनाए । 

कार्यदलका संयोजक भुसालले पीडितहरुको कुरा र उजुरीको आधारमा दोषी देखिएकालाई कारबाही तथा पीडितलाई न्याय दिलाउन सरकारसमक्ष प्रतिवेदन प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन् ।
 
उनले पीडित पक्षको समस्याका बारेमा प्रत्यक्ष अनुभूति गर्नका लागि नै कार्यदलले जिल्ला जिल्लामा पुगेर राय सुझाब संकलन गरिरहेकोसमेत बताए । 

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले गाउँघरका साहु महाजनभन्दा सहकारी, लुघवित तथा वाणिज्य बैंकहरु मिटरब्याजी रहेको आरोप लगाए ।
 
मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले जनकपुरधामस्थित पिपुल्स विक्ली सहकारी संस्थाले आफ्नो गाउँका जनताको ७ करोडभन्दा बढी रकम लिएर फरार भएको सुनाए ।





  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार १९:३५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया