दैनिक १ घण्टा बन्द हुन्छ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी

भाद्र २ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सकमाथि त्यहाँ कार्यरत कर्मचारीले हातपात गरे । प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका आकस्मिक कक्षमा कार्यरत डा. करण साहमाथि प्रतिष्ठान प्रशासनका कर्मचारीले हातपात गरेका थिए । प्रतिष्ठान प्रशासनका कर्मचारी धनबहादुर शाहीलाई हदैसम्मको कारबाहीको मागसहित अहिले प्रतिष्ठानका चिकित्सक आन्दोलित भएका छन् । 

प्रतिष्ठानको ओपिडी सेवा दैनिक बन्द हुँदै आएको छ । जब २ बज्छ, सेतो कोट लगाएका यी चिकित्सक धर्नामा सहभागी हुन्छन्, ३ बजे पुनः ओपिडी सेवा प्रवाहका लागि फर्कन्छन् ।

‘आफ्नै घाउ सम्हाल्ने कि बिरामीको ?’, ‘स्वास्थ्यकर्मीमाथि हातपात गर्न बन्द गरौँ’, ‘ज्यान जोगाउनेको ज्यान नै जोखिममा’ जस्ता नारा लेखेका प्लेकार्ड प्रदर्शन गर्दै उनीहरु धर्नामा बस्छन् ।

घटनालगत्तै चिकित्सकहरुले भदौ ३ र ४ गते हातमा कालोपट्टी बाँधेर सेवा प्रवाह गरेका थिए । ५ गते आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका थिए । यसअघि नेपाल चिकित्सक संघको उपाध्यक्षसहितको टोली जुम्ला आएर घटनाबारे बुझेर फर्किएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको थियो ।

तर, पछिल्लो समयमा प्रहरीको अनुसन्धान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गठित छानबिन समितिलाई सघाउन र घटनामा नकारात्मक प्रभाव पर्न सक्ने तत्वका विरुद्ध भन्दै आन्दोलनका कार्यक्रम जारी रारिएको छ । ‘कानुन छ, यस कानुनको आभास गराऊ, डा. करण साहलाई न्याय देऊ’ लेखिएका प्लेकार्ड प्रर्दशन भइरहेका छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐनबमोजिम कारबाहीको माग गरेका छन् । विभिन्न बहानामा दोषीलाई उन्मुक्ति दिने कार्यले दूरदराजमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल गिराउने भन्दै उनीहरुले निष्पक्ष छानबिन र अनुसन्धानको माग गरेका छन् । 



यता, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डाक्टर कुट्ने शाहीलाई ४५ दिनका लागि निलम्बन समेत गरेको छ । शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र प्रतिष्ठानले छानबिन समिति बनाएर घटनाको छानबिन गरिरहेकाले चिकित्सकहरुले यस अघिका आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए । 

घटनाको सिसिटिभी फुटेजलगायतले घटना छानबिनका लागि धेरै समय लाग्दैन । तर, प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकले अस्पताल निर्देशक डा. पुजन रोकायाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ ।



नेपाल चिकित्सक संघ, जुम्लाका उपाध्यक्ष डा. कमल थानीले भने, ‘घटना छानबिनका लागि त्यत्रो समय लाग्नुपर्ने होइन । सिसिटिभीलगायत प्रत्यक्षदर्शी जुटाउने हो भने एकै दिनमा सकिन्थ्यो । उहाँहरुको पनि प्रक्रिया होला ।’

समितिमा डा. पुजन रोकाया, डा. अनुपमंगल समाल र प्रतिष्ठानका कानुनी सल्लाहकार मीनबहादुर महत रहेका छन् । घटनाका विषयमा अहिले देशैभरका चिकित्सकहरु एकजुट भएका छन् । 

भाद्र २ गते बिहीबार बिहान ९ बजे प्रतिष्ठान प्रशासनतर्फका चौथो तहका कर्मचारीसमेत रहेका शाही छोराको टाँका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेका थिए । तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ बजेतिर टाँका काटिदिने जवाफ दिए ।

टाँका काट्ने विषयमै उनीहरुबीच विवाद सिर्जना हुँदा शाहीले हातपात गरेको नेपाल चिकित्सक संघ जुम्ला शाखाका उपाध्यक्ष डा. कमल थानी बताउँछन् । ‘बिहानपख इमरजेन्सी वार्डमा बिरामीको भिडभाड नै थियो । चिकित्सकले बच्चाको घाउ पाकिसकेको छैन । हतार नगर्नुस् । अहिले म बिरामीसँग छु । ११ बजेतिर भेटेर हेरौँला भन्नुभएको सुनियो,’ उपाध्यक्ष डा. थानीले भने, ‘शाहीले त मेरो काम नगरेको भन्दै डाक्टरमाथि हातपातमा उत्रिएछन् । यो राम्रो काम कदापि होइन । यो कार्यले सिंगो प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मी नै कर्मचारीबाट असुरक्षित हुनुपर्ने अवस्था आयो ।’

डा. साहले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरीउपर प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । नेपाल चिकित्सक संघ जुम्लाले घटना छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । संघका उपाध्यक्ष थानीले जुनसुकै कारण भए पनि आक्रमण गर्न नपाइने भन्दै घटनाको विरोध गरेको जनाए । प्रहरीले प्रतिष्ठानका कर्मचारी शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन तथा प्रवक्ता डा. रमेश भट्टराईले भने, ‘सिसिटिभी फुटेजमा स्पष्ट रुपमा चिकित्सकमाथि हातपात भएको देखिन्छ । कर्मचारीले चिकित्सकमाथि हात नहाल्नुुपर्ने हो । हात हालिसकेपछि समस्या भयो ।’

पीडित चिकित्सकले निवेदनसँगै सिसिटिभी फुटेज नै प्रहरी प्रशासन कार्यालयमा पेस गरेका छन् । शाहीको कुटाइबाट डा. साहको टाउको र पेटमा चोट लागेको जनाइएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम नै कारबाही हुनुपर्ने चिकित्सकहरुको माग छ । ऐनको दफा ३ मा ‘स्वास्थ्य उपचारको विषयलाई लिई स्वास्थ्यकर्मीलाई घेराउ, अपमानजनक व्यवहार वा हातपात गर्न नहुने उल्लेख छ । प्रतिष्ठान प्रशासनका कर्मचारी धनबहादुर शाहीमा समेत ऐनको सोही दफा आकर्षित हुने भएकाले सोहीबमोजिम नै कारबाही गर्नुपर्ने चिकित्सकहरुको माग छ ।

नेपाल चिकित्सक संघ, जुम्लाका उपाध्यक्ष डा. थानीले भने, ‘स्वास्थ्यकर्मी कुटपिट भएको छ । हामी सबैको पेसागत सुरक्षाको अधिकार छ । दोषीलाई सो ऐनबमोजिम हदैसम्मको कारबाही हुनुपर्छ ।’

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनबमोजिम उक्त कसुरमा कसुरको मात्राअनुसार पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । यसैगरी स्वासथ्य संस्थामा तोडफोड, आगजनी वा यस्तै कुनै कार्य गरेको कसुरमा तीन लाख रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद वा दुई सजाय हुन सक्ने व्यवस्था छ ।

  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार २२:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया