हङकङविरुद्ध फराकिलो जित निकाल्दै पाकिस्तान एसिया कपको सुपर फोरमा

पाकिस्तान यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । गएरातिको खेलमा हङकङलाई १५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान समूह ‘ए’ उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको हो । 

हङकङ भने लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो । दोस्रो खेलमा १९४ रनको लक्ष्य पछ्याएको हङकङले १०.४ ओभरमा सबै विकेट गुमाउँदै ३८ रन मात्र बनाउन सक्यो ।

उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङका कप्तान निजाकत खानले सर्वाधिक ८ रन जोडे । पाकिस्तानका लागि शादब खानले ४, मोहम्मद नवाजले ३, नसीम शाहले २ तथा शहनवाज दहानीले १ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । उसका लागि मोहम्मद रिजवानले ५७ बलमा ६ चौका र १ छक्कासहित अविजित ७८ रनको उत्कृष्ट  पारी खेले ।

५३ रनको अर्धशतकीय पारी खेलेका फखर जमानले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गरे । खुसदिल शाह १५ बलमा ५ छक्कासहित ३५ रनमा अविजित रहे ।हङकङका लागि दुवै विकेट एहसान खानले हात पारे । समूह ‘ए’ मा भारत २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहँदा पाकिस्तान समान खेलबाट २ अंका साथ दोस्रोमा रह्यो । दुवै खेलमा पराजय बेहोरेको हङकङ बिना अंक बाहिरियो ।

योसँगै सुपर फोरमा पुग्ने ४ वटै टोलीको टुङ्गो लागेको छ । समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलंकाले सुपर फोरमा स्थान सुरक्षित गरे । 





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार ७:५६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया