सुनसरीका जुटखेतीमा लागेका किसान मल नपाएर निराश

अघिल्ला वर्षमा जुट (सनपाट) खेतीबाट मनग्गे आम्दानी गर्ने सुनसरीका अधिकांश किसान यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन् । मलको अभावमा उत्पादनमा कमी आएसँगै उनीहरूमा निराशा बढ्दो छ । 

समयमै मल नपाएको पीडा झेलेका किसान उत्पादनसमेत घट्न पुग्दा थप चिन्तामा छन् । उत्पादन भएको जुटको मूल्यमा पनि गिरावट आएपछि आफूहरूको रूचिसमेत सो खेतीमा घट्दै गएको किसानहरूको भनाइ छ । 

भारतबाट महँगो मूल्य तिरेर मल खरिद गर्दा सो खेतीमा लागत बढ्न गएको तर आम्दानी कम हुने गरेको उनीहरूले पीडा सुनाए । सुनसरीको भोक्राहाका खुशीलाल उराँव भन्छन्, 'सरकारले मल दिनै सक्दैन । दिन्छु भन्छ तर ६ महिनामा एकपल्ट दियो भने त्यो पनि सबैले पाउनै मुस्किल छ । अनि कसरी हुन्छ । मार्कामा पर्ने त जसरी पनि हामी किसान नै हो ।'

खुशीलालजस्तै रामकृपाल मेहताको समेत सरकारप्रति चरम असन्तुष्टि छ । जुट खेती गर्दै आएका उनी कामदार महँगो मात्र नभई मलखाद नेपालमा नपाउँदाको पीडा सुनाउँछन् ।  नेपालमा मल पाइहाले डिलरवालाले ठूलाबडालाई बेच्ने गरेको उनको गुनासो छ ।

रामकृपालले भने, 'पेशा छोड्न अन्य विकल्प छैन । भारतबाट महँगो मूल्य तिरेर पर्याप्त मल हाल्न समेत गाह्रो छ । जसको प्रभाव उत्पादनमा कमी स्वभाविक हो । तर पनि बाध्य छौं । जसले खर्च धान्नै धौधौ छ ।'

विगतका वर्षको दाँजोमा जुट खेतीमा आकर्षण कम हुँदै गए तापनि केही किसान भने जसोतसो पेशा धानी रहेका छन् । लागत मूल्य बढ्दै जाँदा आम्दानी घटेर निराश देखिए पनि किसानमा सरकारले मलखादको सहजता दिलाओस् भन्ने चाहना छ ।





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १४:४९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया