अलमुताइरीको कार्यकाल : साफ फाइनल पुग्नु र १६ खेलाडीको डेब्यु

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत आफूले जिम्मेवारी छाडेको घोषणा गरे । नेपाली टोलीसँगको सहयात्रा टुङ्ग्याउने घोषणा गरेका उनी हाल आफ्नै देश कुवेतमै छन् ।

कुवेतमै भएको एएफसी एसियन कप तेस्रो चरणको छनोट सकिएपछि उनले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग तीन महिना बिदा लिएका थिए । त्यसयता कुवेतमै रहेका अल्मुताइरीले सामाजिक सञ्जालमा नेपाली टोलीसँगको सम्बन्ध ५२५ दिनपछि टुङ्ग्याएकाे लेखेका छन् ।

उनको नेतृत्वमा नेपालले पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो । गत असोजमा माल्दिभ्स भएको साफ फाइनलमा भारतसँग पराजित हुँदा नेपाल उपाधि जित्न भने चुक्याे । यो नै नेपालले उनको कार्यकालमा प्राप्त गरेको सबैभन्दा ठूलो सफलता हो । 

अलमुताइरी २९ मे २०२१ मा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनलाई तत्कालिन कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फा कार्यसमितिले कतारको सहयोगमा नेपाली टोलीको प्रशिक्षकको रूपमा अनुबन्ध गरेको थियो ।

त्यसयता, अलमुताइरीको नेतृत्वमा नेपालले १७ अन्तर्राष्ट्रिय खेल खेल्यो । यसमध्ये नेपालले पाँचमा जित, दुईमा बराबरी र १० खेलमा हारको नतिजा बेहोर्यो ।

यसअवधिमा नेपालले १४ गोल गर्दा ३६ गोल बेहोर्यो । नेपाली टोलीको जिम्मेवारी सम्हालेदेखि नै विभिन्न विवादका कारण सधैँ चर्चामा रहेका अलमुताइरीले आफ्नो कार्यकालमा १६ नयाँ खेलाडीलाई सिनियर टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गराए ।



उनको प्रशिक्षणमा नेपालले इराकविरुद्ध पहिलो तथा एएफसी एसियन कप तेस्रो चरणको छनोटअन्तर्गत इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेलेको थियो । अलमुताइरीको प्रशिक्षणमा डेब्यु गर्ने पहिलो खेलाडी मनीष डाँगी हुन् । मनीषले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा ‘डेब्यु’ गरेका थिए । सोही खेलबाट गौतम श्रेष्ठले पनि डेब्यु गरे ।

रोचक संयोग त के भने इराकसँगको पहिलो खेलमा दुई खेलाडीलाई डेब्यु गराएका अलमुताइरीले अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध पनि दुई खेलाडीलाई नै डेब्यु  गराएका थिए ।



अलमुताइरीको प्रशिक्षणमा अन्तर्राष्ट्रिय डेब्यु गरेका खेलाडी : मनीष डाँगी, गौतम श्रेष्ठ, आयुष घलान, कमल थापा ,सुरज ज्यु ठकुरी,नितिन थाप, राजन गुरुङ, विशाल श्रेष्ठ, सुदीप गुरुङ, आकाश बुढामगर, नविन गुरुङ, प्रशान्त अवस्थी, दीप कार्की, विकास तामाङ, निरकुमार राई र शिव गुरुङ । 

  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार ११:०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया