नेपालको अर्थतन्त्र श्रीलंकाजस्तो हुनै सक्दैन : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियामा सम्पन्न मुलुकको रूपमा चिनाउने अभियानको रूपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

मन्त्री कार्कीले आगामी निर्वाचनमा जनतालाई मत माग्ने र मत दिने मेसिनको रूपमा मात्रै नलिई आफूहरूले १० वर्ष भित्रमा कमसेकम नेपाललाई दक्षिण एसियाको सम्पन्न मुलुकको रूपमा चिनाउने अभियानको रूपमा अघि बढाउने बताएका हुन् ।

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ को शुभारम्भ गर्दै उनले मुलुकको अर्थतन्त्र श्रीलंकाजस्तो हुनै नसक्ने दाबीसमेत गरे । केहीले मुलुकको अर्थतन्त्र श्रीलंकाको हालतमा अघि बढेको भन्दै भ्रम सृजना गरिरहेको तर त्यस्तो हुनै नसक्ने मन्त्री कार्कीको भनाइ थियो । 

उनले अर्थतन्त्रलाई चलायमान बनाई समुन्नत नेपाल निर्माण गर्नका लागि मुलुकका सामू धेरै सम्भावनाहरू रहेको पनि उल्लेख पारे । ‘सरकार निजी क्षेत्रलाई प्रोत्साहित गर्न चाहन्छ । निजी क्षेत्रसँग हातेमालो गरेर अगाढि नबढिकन मुलुकलाई समृद्ध गराउने जुन हामी सबैको अभिलाषा छ । त्यो अभिलाषा पूरा हुन सक्दैन भन्ने कुरामा म पूर्णरूपले जानकार छु । केही समय हामी चिन्तित पनि भयौं,’ मन्त्री कार्कीले भने, ‘एउटा भ्रम पनि सृजना गरियो–नेपालको अर्थतन्त्रको हालत श्रीलंकाको जस्तो हुँदैछ भनेर । हामी सचेत हुन जरुरी थियो । र, मैले धेरै सार्वजनिक फोरमहरूमा बोलेको छु–कि हाम्रो अवस्था श्रीलंकाको जस्तो हुँदैन । हुन दिनु पनि हुँदैन । हामीसँग धेरै सम्भावनाहरू छन । ती सम्भावनाहरूलाई अवसरको रूपमा परिणत गरेर अब हामीसँग अगाडि बढ्नुको विकल्प छैन ।’    

उनले निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा सरकार जानकार रहेको पटकपटक दोहोर्‍याए । त्यस अवसरमा मन्त्री कार्कीले  ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ मुलुकको समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सचेत गराए । 





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १४:८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया