महिला साफमा भारतसँग नेपालको असली परीक्षा, यस्ताे छ दुवै टोलीबीचको विगत

घरेलु टोली नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा आज साबिक विजेता भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुनेछ ।

नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । किनकी हरेक संस्करणमा नेपाल  भारतसँग नै स्तब्ध हुँदै आएको छ । 

भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायमै राख्न चाहन्छ । नेपालविरुद्ध भारत आफ्नो विरासत कायम राख्ने सोचमा छ । समूह चरणमा अपराजित नेपाल समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । भारतले समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । पाकिस्तानलाई ३–० र माल्दिभ्सलाई ९–० ले हराएको भारतले  बंगलादेशसँग ३–० को पराजय बेहोरेको थियो ।

समूह चरणका दुवै खेलमा नेपालले विपक्षीबाट खासै चुनौतीको सामना गर्नु परेन । सात हप्ताको तयारीपछि साफ च्याम्पियनसिपको यात्रा सुरु गरेको नेपालका लागि समूह चरणको खेल अभ्यास खेल भन्दा बढी थिएनभन्दा फरक पर्दैन । त्यसैले नेपालका लागि साफ च्याम्पियनसिपको असली परिक्षा भारतविरुद्धको खेलबाट हुनेछ । 

श्रीलंकासँगको फराकिलो अन्तरको जितमा पनि टोलीका मुख्य प्रशिक्षक कुमार थापा सन्तुष्ट थिएनन् । खेलपछि थापाले भनेका थिए ‘खेलाडीले एकदम गोल गर्न हतार गरे । हामीले आफ्नो शैलीअनुसार खेल्न सकेनौँ । म खुसी छैन, श्रीलंका भएकाले त्यति कठिन भएन । तर, अन्य टोलीविरुद्ध गाह्रो हुन्छ ।’



थापाले यसो भनिरहँदा नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय भइसकेको थिएन । मंगलबार बंगलादेशसँग पराजित भएपछि भारतले सेमिफाइनलमा नेपालसँग खेल्ने पक्का भएको हो । 

भारत त्यही टोली हो जसलाई साफ च्याम्पियनसिपमा नेपालले हराउन सकेको छैन । त्यसैले भन्न सकिन्छ आज भारतविरुद्ध हुने खेल साफ च्याम्पियनसिपमा नेपालको क्षमताको परीक्षण हुनेछ ।



अघिल्ला ५ मध्ये ४ संस्करणका फाइनल तथा एकपटक सेमिफाइनलमा नेपाल भारतसँगै पराजित भएर घर फर्केको थियो । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपमा भारतबाहेक कुनै टोलीसँग हारेको छैन । यसपटक पनि भारतको चुनौतीलाई पन्छाउन नसकेकामा नेपालको साफ विजेता बन्ने सपना सेमिफाइनलमै समाप्त हुनेछ । 

साफ च्याम्पियनसिपको इतिहासमा दोस्रो पटक नेपालले सेमिफाइनलमा भारतको सामना गर्दैछ । सन् २०१६ को चौथो संस्करणमा भारतीय भूमिमै सेमिफाइनल हारेको नेपालले यसपटक घरेलु मैदानको फाइदा उठाउँदै भारतको चुनौती पार गर्नुपर्नेछ । प्रशिक्षक थापाले सेमिफाइनलमा भारत वा बंगलादेश जुन टोली आएपनि आफूहरूको खेलको रणनीति र शैलीमा भने कुनै परिवर्तन नहुने बताएका थिए । 

थापासँग अर्को संयोग के छ भने सन् २०१६ मा नेपाली टोली सेमिफाइनलबाटै बाहिरिँदा टोलीको नेतृत्व उनैले गरेका थिए । थापा यसपटक भारतलाई हराउँदै त्यसको बदला लिन चाहन्छन् । बंगलादेशसँग अप्रत्यासित हार बेहोरेको भारतका लागि नेपालसँगको खेल प्रतिष्ठाको लडाइ हुनेछ । लगातारको च्याम्पियन कुनै पनि हालतमा सेमिफाइनलबाटै घर फर्कन चाहँदैन त्यसैले उसले आज आफ्नो शतप्रतिशत दिन कुनै कसुर छाड्ने छैन । 

भारतीय टोलीका टोलीका प्रशिक्षक सुरेन क्षेत्रीले आफ्नो टोलीको खराब प्रदर्शनका कारण बंगलादेशसँग पराजित भएको बताएका थिए । प्रशिक्षक क्षेत्री घरेलु समर्थकबीच नेपालविरुद्ध खेल्न कठिन हुने बताउँछन् । ‘नेपालसँगको खेल सधैं कठिन हुने गर्दछ । अझ नेपालमै आएर खेल्न थप गाह्रो छ किनभने समर्थक उनीहरूलाई घरेलु समर्थकको पनि साथ हुने गर्छ’, उनले भने । 

‘हामीले यसअघि विराटनगर पनि खेलेका थियौं । काठमाडौंमा अझ धेरै समर्थक हुनेछन् । तर, हामीसँग पुरानो अनुभव छ । नेपाललाई घरेलु भूमिमै हराएका खेलाडी पनि टोलीमा छन् । अब हाम्रो ध्यान सेमिफाइनलमा हुनेछ’, क्षेत्रीले थपे ।

साफ च्याम्पियनसिपमा सधैं भारतसँग पराजित नेपाल यसपटक घरेलु मैदानको फाइदा उठाउँदै इतिहास दोहोर्‍याउने होइन बनाउने सोचमा छ । तर, त्यसका लागि नेपालले भारतविरुद्ध आफ्नो गल्तीहरू सुधार गर्दै शतप्रतिशत दिनुको विकल्प छैन । 

दक्षिण एसियाली क्षेत्रको सबैभन्दा बलियो र सफल टोलीको चुनौतीलाई पन्छाउँदै नेपाल आफ्नो असली परीक्षामा सफल हुन्छ या हुँदैन भन्नेमा सबैको नजर हुनेछ । 

इतिहासमा भारतविरुद्ध नेपाल 

नेपाल र भारतले साफ महिला च्याम्पियनसिपका अघिल्ला पाँचै संस्करणमा एकअर्काको सामना गरेका छन् । जसमा सबै खेल भारतले जितको छ ।  यी दुई टोलीले सन् २०१० को पहिलो संस्करणको फाइनलमा एकअर्काका सामना गर्दा भारत १–० ले विजयी भएको थियो । त्यस्तै, २०१२ र २०१४ को फाइनलमा पनि नेपाल क्रमशः ३–१ र ६–० ले पराजित भयो । 

२०१६ को साफ च्याम्पियनसिपमा भने यी दुई टोलीबीच सेमिफाइनलमै भेट हुँदा भारतले ३–१ को जित निकाल्यो । २०१९ को पछिल्लो संस्करणको फाइनलमा पनि नेपाल ३–१ ले पराजित हुन पुगेको थियो ।

  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार ११:४१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया