logo-img

विज्ञ समूहको निष्कर्ष : निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुन्छ
फाइल तस्बिर

विज्ञ समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य विकल्प नरहेको निष्कर्षसहित अध्ययन प्रतिवेदन बुझाएको छ । आइतबार सरकारद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा अध्ययन गर्न गठित विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरे । सर्वोच्च अदालतको फैसलाअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयअनुसार विज्ञ समूह गठन भएको थियो । 

उक्त विज्ञ समूहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा अध्ययन प्रतिवेदन तयार पारेर विमानस्थलको विकल्प अरू कुनै नरहेको निष्कर्षसहित प्रधानमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको भन्दै विज्ञ समूहले त्यसको लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प अन्य कुनै नभएको निष्कर्ष निकालेको बताए । 

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहको गठन सर्वोच्च अदालतले फैसला गरेर जे निर्देशन भएका थिए, त्यही निर्देशन अनुसार सरकारले मन्त्रीपरिषद्बाट कार्यदल बनाउने काम गर्‍यौँ । विज्ञहरू राखेर कार्यदल बनाएर अध्ययन गर्ने भनिएको थियो,’ मन्त्री श्रेष्ठले भने, ‘विज्ञहरूमा समाजशास्त्री,वातावरणविद्,वन्यजन्तु सम्बन्धी विज्ञहरू,हवाई सम्बन्धी विज्ञहरू लगायत सबै क्षेत्रमा विज्ञहरुलाई राखेर कार्यदल बनायौं । कार्यदलले सबै पक्षमा अदालतले उठाएका विषयहरूको पक्षमा अध्ययन गरेर निजगढ विमानस्थलको विकल्पहरू के हुनसक्छ भनी विकल्पहरूको समेत अध्ययन गरेर निष्कर्षसहित प्रतिवेदन पेस गर्नुभएको छ ।’

उनले सिमरा, कोल्वी र मूर्तिया लगायत तीनवटा सम्भावित स्थानमा विमानस्थल निर्माण गर्न सकिनेसमेत समितिले सुझाव दिएको बताए । विज्ञ समूहले विमानस्थल निर्माण गर्ने क्षेत्रमा बाघ, हात्ती जस्ता वन्यजन्तुहरू नरहेको अध्ययनले पुष्टि गरेको उनले बताए । उनले भने, ‘निजगढको विकल्पको अध्ययनमा सिमरा, कोल्वी र मूर्तिया लगायत सबै हिसाबले निजगढ विमानस्थल निर्माण गर्ने स्थान नेपालको प्राइमरी विमानस्थलको हिसाबले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प अरू कुनै पनि हिसाबले हुन सक्दैन भन्ने निष्कर्ष विज्ञ समूहको रहेको छ । जहाँ वन्यजन्तुहरू बाघ,हात्ती,सडक लगायतको विषय छ त्यसमा विमानस्थल निर्माणको लागि निर्धारण गरिएको क्षेत्र हो त्यहाँ पर्दैन ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अध्ययन प्रतिवेदन बुझ्दै प्रतिवेदनको आधारमा विमानस्थल निर्माण प्रक्रियाहरू अगाडि बढाउन निर्देशन दिनुभएको बताए । मन्त्री श्रेष्ठले भने, ‘प्राइमरी अन्तर्राष्ट्रिय विमानस्थल निजगढ नै उपयुक्त हो यसको विकल्प अरू कुनै पनि हुने अवस्था छैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अध्ययन प्रतिवेदन बुझ्दै प्रतिवेदनको आधारमा विमानस्थल निर्माण प्रक्रियाहरू अगाडि बढाउन निर्देशन दिनुभएको छ । सरकारले विज्ञ समूहको अध्ययन प्रतिवेदनको आधारमा विमानस्थल निर्माणको प्रक्रिया सुरु गर्छौँ । प्रतिवेदन अध्ययन गर्छौँ र सबै प्रक्रिया सुरु गछौँ । कानूनी रुपमा सरकारले गर्नुपर्ने कामहरु के–के छन् । सबै प्रक्रियालाई अवलम्बन गरेर विमानस्थल निर्माणको काम अगाडि बढाउँछौँ ।’




मन्त्री श्रेष्ठले विज्ञ समूहको अध्ययनले नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको निष्कर्ष निकालेको बताए । 

प्रतिवेदनअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थान काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) र पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको छ । रुख कटानी तथा वातावरणीय क्षति न्यूनीकरण गर्न सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखी एयरपोर्ट सिटीको अवधारणालाई पुरै त्याग्नुपर्ने सुझाव विज्ञ समूहले दिएको छ ।



  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १६:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया