बैतडीमा हवाई उडान सेवा चार महिनादेखि बन्द
फाइल तस्बिर

कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको १६ यात्रु क्षमताका ९ एन—एकेजेड विमानले पहाडी जिल्लाहरूमा उडान भर्दै आएको थियो । डडेलधुरा बाहेक पहाडी ६ जिल्लामा विमानस्थल छन् । त्यसमा पनि दार्चुला बाहेक सबै जिल्लामा हवाई सेवा सुरु भएको थियो । तर, पछिल्लो चार महिनादेखि बैतडीमा  र हवाई उडान सेवा बन्द भएको छ । नेपाल वायुसेवा निगम र समिट एयरले हवाई सेवा बन्द गरेका हुन् । 

स्थानीय तेज पन्तले बैतडी विमानस्थलमा जहाज आउन छोडेको बताए । ‘धेरै भयो, विमान नआएको, दसैंको बेलामा पनि विमानस्थल सुचारु नभए समस्या हुने देखिएको छ,’ उनले भने, ‘जहाज आएको भए यताका उता र उताका यता आउन सहज हुने थियो ।’

यात्रुको सङ्ख्या घटेको कारण देखाउँदै धनगढी र नेपालगन्जबाट बैतडीमा हवाई उडान सेवा चार महिनादेखि बन्द भएको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले सुदूर पहाडका विमानस्थलबाट नियमित उडान गर्न भने पनि विमान कम्पनीहरूले विभिन्न बहाना बनाउँदै आएका छन् ।

समिट एयरले बैतडीमा सातामा एक दिन उडान भर्ने तालिका बनाएको थियो । तर उक्त तालिका कार्यान्वयन भएको छैन । हप्ताको बिहीबार बैतडीमा उडान भर्दै आएको समिट एयरले सेवा बन्द नै गरेको छ । समिट एयरका प्रतिनिधि सिनेशराज शाहीले बैतडीको सेवा यात्रु नभएका कारण बन्द गरेको बताए । उनले भने, ‘डोटी र बैतडी बाहेकका अन्य जिल्लामा जहाज जाँदै छ । तर डोटी र बैतडीमा यात्रु कम भएकाले जहाज जान रोकेका हौँ ।’

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले पनि विमान कम्पनीहरूले यात्रुको समस्या देखाएर सेवा बन्द गरेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले धनगढीलाई केन्द्र बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न एयर ट्राफिक कन्ट्रोलर खटाइसकेको थियो । टर्मिनल भवन, टावरलगायतका अन्य उपकरण जडान नभएको अवस्थामा तत्कालका लागि भीएचएफ प्रणालीबाट हवाई सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति खटाएको हो । तर, पछिल्लो समयमा नेपाल वायुसेवा निगमको जहाज नेपालगन्जमा राखिएको छ । 





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १४:१८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया