मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको साथ थापा कि सिंहलाई ?

प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन आउन अब दुई महिना मात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुलाई आफ्नो पार्टीबाट बलियो उम्मेदवारलाई मैदान उतार्ने तयारीमा जुटिरहेका छन् । 

गठबन्धनबाट निर्वाचनमा जाँदा पनि एकल चुनावी मैदानमा उत्रन लागेको नेकपा एमाले सँग पराजित हुन पर्ला भन्ने गठबन्धनमा रहने राजनीतिक दलहरुको त्रास उस्तै छ । त्यसो त, अघिल्लो निर्वाचनमा ठूलो दलको नामले कहलिएको नेकपा एमालेलाई पनि आफ्नो साख जोगाउन हम्मेहम्मे छ । 

प्रतिनिधिसभा क्षेत्र २ र प्रदेशसभा क्षेत्र ४ रहेको मकवानपुरमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन रोचक बन्ने आकलन चुलिएको छ । नेकपा एमाले मकवानपुरले क्षेत्र नम्बर २ को उम्मेदवारको लागि तीनजनाको नाम सिफारिस गरेको छ । पूर्व संविधानसभा सदस्य सुवासचन्द्र ठकुरी, युवानेता महेश बर्तौला र नेता बुद्धरत्न मानन्धरको नाम पार्टीले सिफारिस गरेको हो । 

तीनजनामध्ये एक बलियो उम्मेदवारलाई मैदानमा ल्याउने तयारी एमाले मकवानपुरको छ । त्यसो त, एमाले मकवानपुर क्षेत्र नम्बर १ कमिटीले प्रतिनिधिसभा निर्वाचनको लागि ५ जनाको नाम सिफारिस गरेको छ । एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, जिल्ला सचिवालय सदस्य अधिवक्ता मदन कुमार दाहाल, एमाले मकवानपुरका सदस्यहरु नरहरी महत र रमिला सापकोटालाई उम्मेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको हो । 

तर, सिफारिसमा परेका उम्मेदवारहरुले टिकट नपाउलान् भन्ने चिन्ता यतिबेला व्यापक छ । कारण हो, एमाले सँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) नेपालको साथको चर्चा । 

राप्रकाको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेसँग सहकार्य गरेर निर्वाचनमा होमिने बताउँदै आएका छन् । जसमा मकवानपुरको क्षेत्र नम्बर १ मा एमालेसँग गठबन्धन गरेर अघि बढ्ने चर्चा भइरहेको छ । 



मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाबाट दीपक सिंहको एकल सिफारिसमा नाम छ । त्यसोत उनी गठबन्धन भए पनि नभए पनि आफ्नो उम्मेदवारी फिर्ता गर्ने, अन्य पार्टीलाई सघाउने पक्षमा छैनन् । 

संस्थापनकालदेखि नै राप्रपामा रहेर पार्टी हितका लागि थुप्रै संगठनहरुमा सक्रिय रहेका सिंह २०५४ सालमा  हेटौंडा उपमहानगरपालिकाको मेयरका राप्रपाको तर्फबाट उम्मेदवार रहेका उनले प्रत्यासी डोरमणि पौडेलसँग ६ सय मतान्तरले पराजित हुन परेको थियो । त्यसपछि २०५६ सालमा प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका उनले तत्कालीन नेकपा एमालेका उम्मेदवार रहेका बिरोध खतिवडासँग १५ सय मतान्तरले पराजित भएका थिए । 



त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग २ हजार मतान्तरले पराजित हुन परेको थियो भने गत वैैखाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडाकी मेयर मिना लामा सँग २५ सय मतान्तरले पारजित भएका थिए । यो पारजित सँगै सिंह चारपटकको निर्वाचनमा पराजित भएका उनी पाँचौँपटक मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट राप्रपाका तर्फबाट एकल सिफारिसमा परेका हुन् । सिंह प्रतिनिधि सभा सांसदमा आफ्नो स्थान सुरक्षित राख्न केन्द्रीय लबिङमा व्यस्त छन् । 

यता, राप्रपा नेपालका अध्यक्ष कमल थापाको क्षेत्र रहेको क्षेत्र नम्बर १ बाट उनी पनि प्रतिनिधि सभाको उम्मेदवार हुन् । निर्वाचनको मिति नजिकिएसँगै गृहजिल्ला नछोडेर चुनावी प्रशिक्षणमा सहभागी भइरहेका थापा हरेक भाषणहरुमा आफ्नो साथ नेकपा एमालेलाई रहेको बताउँदै आएका छन् । 

गठबन्धनमा रहेका दलहरु दलाल भएको र देशमा शान्ति सुव्यवस्था ल्याउने पार्टी एमाले मात्रै रहेको अभिव्यक्तिहरु हरेक भाषणमा सुनिदै आएको छ । उनको यस्तोे अभिव्यक्तिले थापा पनि एमालेकै छायाँ खोजिरहेका छन् । पार्टी एक ढिक्का हुँदा समेत पटक÷पटक पराजित भएका थापालाई यो निर्वाचन अझ चुनौती पुर्ण बनेको छ । 

प्रजातन्त्र पुनस्थापनापछि भएको पहिलो आमनिर्वाचन २०४८ मा पराजित भएका थापाले २०५१ को मध्यावधि चुनावमा भने जित हात पारे । त्यसयता सधैँ हार्दै आएका उनी पटकपटक मन्त्रीे भए । २०५१ यता हालसम्म ८ प्रधानमन्त्रीत्वकाल र २०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक थापा मन्त्री बनिसकेका छन् । 

२०४८ को आम निर्वाचनमा मकवानपुर–१ मा थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए । ०५१ को मध्यावधि चुनावमा थापाले त्यसको बदला लिए । तर, मकवानपुर २ बाट पनि उठेका उनलाई तत्कालीन एमालेका विरोध खतिवडाले पराजित गरे । २०५६ मा थापा मकवानपुर–१ मा दाहालसँग पराजित भए। 

त्यसबेला दाहालले २० हजार ४४२ मत पाउँदा थापाले १५ हजार ९८५ मत प्राप्त गरेका थिए । थापाको यो पराजयको इतिहास हेर्ने हो भने पनि उनी आगामी निर्वाचनमा समेत विजयी हुने अवस्था न्यून छ । त्यसैले एमालेको साथमा निर्वाचनमा होमिने आधारहरु तयार गर्नमा व्यस्त छन् थापा । मकवानपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेसँगको सहकार्यमा निर्वाचनमा गएर यो पटक विजयी हुने थापा र सिंहको लक्ष्यमा कसको इच्छा एमालेले पूरा गर्ला त्यो हेर्न भने बाँकी नै छ । 

तर, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ आफ्नै पार्टीका उम्मेदवारलाई मात्रै निर्वाचनमा पठाउने बताउँछन् । बाहिरी हल्लाको पछि नलागौं भन्दै श्रेष्ठले भने, ‘हामी कसैलाई सघाउने, गठबन्धन गर्ने पक्षमा छैनौं । हाम्रो आफ्नै तयारी भइरहेको छ । भाषण गर्दै बाहिर बाहिर मिल्छौं भन्दैमा हल्लाको पछि नलागौँ ।’

मकवानपुरमा प्रतिनिधिसभा सदस्यका लागि २ र प्रदेश सभा निर्वाचनका लागि ४ वटा निर्वाचन क्षेत्रको रुपमा निर्धारण गरिएको छ । मकवानपुरको प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, १६, १७ र १८ नम्बर वडा बागमती गाउँपालिका, बकैया गाउँपालिका, र मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ रहेका छन् ।
 

  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १८:२७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया