लालपुर्जा लिन भूमि आयोग पुगेनन् सुकुम्बासी
वीरेन्द्रनगरस्थित राष्ट्रिय भूमि आयोगको सुर्खेत कार्यालय । (तस्बिरः पुनम बिसी/फरकधार)

सुर्खेतको कोटमाँझ खर्क क्षेत्रमा वि.सं. २०२२ सालदेखि नागरिकहरु बसोबास गरिरहेका छन् । यसअघिसम्म उनीहरु लालपुर्जाविहीन थिए । केही नागरिकसँग तत्कालीन आयोगहरुले वितरण गरेको सेतो पुर्जा मात्र थियो ।

गत वर्ष २०७८ को चैत्रमा राष्ट्रिय भूमि आयोगको सुर्खेत कार्यालयले भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकामा लालपुर्जा वितरण गरेको थियो । अव्यवस्थित तथा अस्थायी, भूमिहीन, सुकुम्वासी नागरिकको सवालमा तत्कालीन राप्ती अञ्चल वसोवास आयोगले गरेको कामको आधारमा प्रक्रिया अघि बढाइएको थियो ।

आवश्यक कागजपत्र तथा प्रमाणका आधारमा आयोगले गत वर्ष लालपुर्जा वितरण गरेको थियो । आयोगको सुर्खेत अध्यक्ष श्रीधर पौडेलले भने, ‘कोटमाझ खर्क क्षेत्रमा दुई सय ४७ पुर्जा जारी गरेका थियौँ । सो मध्य एक सय पुर्जा लिन नागरिक नै आएका छैनन् ।’

गत वर्ष चैत्रमा आयोगले भेरीगंगा र गुर्भाकोटमा कुल दुई सय ४७ पुर्जा जारी गरेको थियो । हालको आयोगले सुर्खेतमा देशमै पहिलोपटक लालपुर्जा वितरण सुरु गरेको थियो । तर, सो समयमा कुल एक सय ४७ थान लालपुर्जा मात्र वितरण भएका एक सय जना परिवारका लागि जारी लालपुर्जा अहिले आयोगमै छ ।

आयोगले पुर्जा लिनका लागि सम्पर्कमा आउन सूचना जारी गरेपनि नागरिकहरु सम्पर्कमा आएका भने छैनन् । सोमध्ये एक हुन्, तिलसरी सुनार । तिलसरीलाई आयोगले जग्गाको लालपुर्जा प्राप्त गर्ने नागरिकको सूचीमा राखेको छ । सुनारको नाउँमा उक्त क्षेत्रमा आठ सय ७२ वर्ग मिटर जग्गाको क्षेत्रफल देखिन्छ । एउटा मात्र कित्ता रहेको उक्त जग्गाको लालपुर्जा आयोगबाट लिन सकिन्छ । तर, सुनारले भने हालसम्म पनि आयोगमा सम्पर्क गरेकी छैनन् ।

लालपुर्जा प्राप्त हुन सक्ने देखिए पनि किन सम्पर्कमा नआएको भन्ने प्रश्नमा तिलसरी सुनारले भनिन्, ‘खै हाम्रो नाउँ आउला भनेको अहिलेसम्म आएको छैन । राजस्व त बैंकमा जम्मा गरेका थियौँ ।’



यसैगरी आयोगको तथ्यांकअनुसार उक्त क्षेत्रमा वसोवास गरिरहेका लालप्रसाद शर्माको हकभोगका नाममा ६ वटा कित्ता छन् । शर्माको नाममा १८ रोपनी भन्दा धेरै जग्गा छ । तर, आयोगमा हालसम्म पनि शर्माले लालपुर्जाका लागि सम्पर्क गरेका भने छैनन् । तत्कालीन आयोगहरुसँग जग्गाको विवरण बुझाई माग गरेका उनले हालको गठित आयोगले उक्त क्षेत्रमा लालपुर्जा वितरण गरिसके पनि शर्मा आयोगको सम्पर्कमा आएका छैनन् । 

लालपुर्जा लिन नआएको विषयमा शर्मासँग जानकारी लिँदा टेलिफोन सम्पर्कमा उनले भने, ‘मैले राजस्व पनि बुझाएको थिएँ । तर, लालपुर्जा पाएको छैन ।’ आफूले भागचलन गरेको जग्गाको लालपुर्जा तयार भएको विषयमा उनले अनविज्ञता जनाए ।



उनले भने, ‘बैंकमा जग्गाको राजस्व दाखिला गरेका थियौँ । आयोगलाई भौचर बुझाएको जस्तो लाग्छ ।’ उनले भने, ‘मैले जग्गाको राजस्व बैंकमा दाखिला गरेर आयोगमा पेस गरेको जस्तो लाग्छ । अब आयोग कार्यालय पुग्नुपर्ला ।’   
 
भूमि आयोगको सुर्खेत कार्यालय भने लालपुर्जा लिन बाँकी नागरिकमा धेरैको संख्या राजस्व नबुझाएकाहरुको छ । कोटमाझ खर्क क्षेत्रमा कृषि व्यवसाय सञ्चालन गरिरहेका तथा रोजगारीका लागि भारतसम्म पुग्ने नागरिकको संख्या धेरै भएको क्षेत्र हो । सोही कारण पनि नागरिकले समयमा नै राजस्व नबुझाएको आयोगको सुर्खेत समितिका अध्यक्ष पौडेलको धारणा छ ।

उनले भने, ‘राजस्वका लागि बैंकमा रकम दाखिला गरेपछि हामीलाई भौचर उपलब्ध गराउनुपर्ने हुन्छ । राजस्व बैंकमा दाखिला गर्ने र घरमा भौचर राखेर लालपुर्जा कुर्ने नागरिकहरु पनि भेटिए । यसैगरी रोजगारीका लागि भारत पुगेका कारण पनि उनीहरुले राजस्व जम्मा नगरेको पनि देखिएको छ ।’

आयोगले लालपुर्जाका लागि सम्पुर्ण कागजप्रक्रिया पुगेको पाएपछि उक्त क्षेत्रका नागरिकलाई लालपुर्जा जारी गरेको थियो । यसका साथै कागजपत्र अभाव रहेकालाई समेत समयमा नै कागजपत्र पेस गर्न सूचना जारी समेत गरेको अध्यक्ष पौडेल बताउँछन् । 

वि.सं. २०२८ सालदेखि यस क्षेत्रका नागरिकहरुले जग्गा कमाई भोग चलन गर्दै आएको र मालपोत कार्यालय सुर्खेतले २०४० सालमा नाप नक्सा गरी राखेको कामलाई विभिन्न कालखण्डमा बनेका आयोग तथा समितिहरुले थाती राखेका थिए । गत वर्षको पुस २३ मा गठित राष्ट्रिय भूमि आयोग सुर्खेत समितिले माघ १४ गतेदेखि वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी काम अघि बढाएको थियो ।

आयोगले गत वर्ष भेरिगंगा नगरपालिकामा कुल एक सय १२ पुर्जावितरण गरेको थियो । कुल दुई सय ५० कित्ता रहेका यी पुर्जामार्फत आयोगले ६ लाख ७५ हजाार दुई सय ५३ वर्ग मिटर जग्गाको पुर्जा वितरण गरेको हो । गुर्भाकोट नगरपालिकामा भने ३५ पुर्जा वितरण गरिएको थियो । ३५ पूर्जामा समावेश ५९ कित्ताबाट आयोगले सात लाख ९८ हजार नौ सय ३० वर्ग मिटर जग्गाको पुर्जा वितरण भइसकेको छ ।

 

  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार १९:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया