माओवादीबाट एमाले प्रवेश गरेका प्रभु साहलाई एमालेले गर्‍यो पार्टीबाट निष्कासन

एमालेले पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका प्रभु साह अहिले चर्चामा छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट-३ बाट एमालेको टिकट बहिष्कार गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि साह विवादमा आएका हुन् । पार्टी विरोधी गतिविधि गरेको आरोपमा एमालेले शुक्रबार साहसहित तीन नेतालाई कारबाही गरिसकेको छ ।

जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने एमालेको निर्णयप्रति असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको साहले दाबी गरे पनि यसमा कुनै सत्यता नभएको उनलाई नजिकबाट बुझ्नेहरूले बताएका छन् । राजनीतिक जीवनको सुरुवातदेखि नै साहमा अस्थिर चरित्र हावी हुँदै आएको देखिन्छ ।  

२०५४ सालको स्थानीय निर्वाचनमा साह एमालेबाटै रौतहटको पतौरा गाविसमा वडाध्यक्षमा निर्वाचित भएका थिए । साबिकको पतौरा गाविस उपाध्यक्ष सत्यनारायण राउतलाई २०५७ सालमा तत्कालीन जिविस सभापति राजेन्द्र पटेलको निवासमा कार्यवाहक अध्यक्ष बनाउन उनी हातपातमा समेत उत्रिएका थिए । सोही वर्ष मौलापुर चिरचिरास्थित प्रहरी बस्न छोडेको प्रहरी चौकीमा माओवादीहरूसँग मिलेर आगजनी गरे । त्यही घटना जोडिएपछि उनी फरार भएका थिए । फरार रहेको अवस्थामा उनलाई २०५७ सालमा माओवादीले सम्पर्क गरी आफ्नो पार्टीमा भित्र्याएको हो । 

भूमिगत माओवादी पार्टीले उनलाई मधेसी मुक्ति मोर्चामा संगठित गरेर तराईमा खटायो । मधेसका माओवादी नेता मातृका यादव र साहबीच लामो समयसम्म सम्बन्ध कायम रहन सकेन । दुबैबीच टकराब बढ्दै गयो । साह माओवादीभित्रको बाबुराम गुटमा सामेल भए । माओवादीहरूको गुटवन्दीमा साह कमजोर बन्दै गएर पार्टी छोड्ने वा छुट्टै पार्टी खोल्ने विकल्प बारेमा सोच्दै थिए । ठिक यसै वेला नेकपा विभाजन भयो । अवसरको खोजीमा रहेका साहले एमालेबाट राम्रो अफर पाए र उनी एमाले पसे ।

एमालेमा केही समय प्रदेश अध्यक्ष भएर प्रदेश सचिव सुमन प्याकुरेलको सहयोगमा उनले एकलौटी रूपमा पार्टी चलाए । मधेस प्रदेशमा रघुवीर महासेठको प्रवेशपछि उनीसँग साहको टकराब बढ्न थाल्यो । त्यसपछि साह अध्यक्षबाट हटाइए र ज्वाला साहले अध्यक्षको जिम्मेवारी पाइन् । 

त्यसपछि दुई जना बीच टक्कर झन् बढ्दै गयो । साह प्रदेश इन्चार्ज भएर पार्टी कब्जा गर्न चाहन्थे । तर पार्टीको दसौँ महाधिवेशनपछि रघुवीर महासेठ पार्टी सचिव र इन्चार्जसमेत बनाइए । त्यही दिनदेखि उनको पार्टीबाट बहिर्गमनको तयारी सुरु भएको थियो । अहिले आएर सोही योजनालाई पूर्णता दिइएको रौतहटका एमाले नेता कार्यकर्ता बताउँछन् ।



मधेस प्रदेशको इन्चार्ज बनेर शक्तिसहित चलखेल गर्ने योजनामा थिए साह । सोही कारण उनले विधान महाधिवेशन बहिस्कार गरे । केन्द्रीय कमिटी बैठक र धेरै पटक प्रदेश कमिटी बैठकसमेत बहिस्कार गरेर उनले पार्टीभित्र उधुम मच्चाएका थिए । एमालेका महासचिव शंकर पोखरेलले पटक पटक काठमाडौंमै बैठक बोलाएर मनाउने काम गरे । विधान संशोधन गरेर उनका मान्छेहरूलाई केन्द्र र प्रदेशमा राखेको बताइन्छ । अहिले एमालेले साह निकट नेताहरू सबैलाई कारबाही गर्ने तयारी गरेको छ ।



  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार १६:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया