जुम्लाले राष्ट्रको नेतृत्व गर्छ भन्ने ज्ञानेन्द्र शाहीको संसदमा इन्ट्री गर्ने सम्भावना कति ?

आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेसँगै चुनावमा को-को भिड्ने भन्ने पनि निश्चित भइसकेको छ । नेताहरू चुनावी दौडधुपमा छन् । 

यस पटकको निर्वाचनमा होमिने नयाँ अनुहारको सङ्ख्या पनि उल्लेख्य छ । त्यसै मध्येको एक चर्चित नाम हो ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) । लामो समय ‘भ्रष्टाचार विरोधी’ अभियान चलाउँदै आएका शाही राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा छन् ।

‘अब जुम्ला बोल्छ, अब जुम्ला जाग्छ र यो राष्ट्रको नेतृत्व गर्छ,’ भन्दै उनी आफ्नो गृह जिल्लासमेत रहेको जुम्लाबाट पहिलो पटक चुनावमा भिड्न लागेका हुन् । जुम्लाको स्याउ, मार्सी, सिमी, जडीबुटी लगायतको निर्यात गरेर सिङ्गो मुलुकलाई समृद्धिको बाटोमा लैजान आफ्नो उम्मेदवारी रहेको शाहीले बताउँदै आएका छन् ।

भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका शाही २०७८ फागुन ६ गते राप्रपामा प्रवेश गरेका थिए । हाल राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य रहेका शाही पार्टीका पाँच जना  मध्येका एक प्रवक्तासमेत हुन् ।

शाहीले उम्मेदवारी दिएको जुम्लामा राप्रपाको प्रभाव भने निकै कमजोर छ । स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने त्यहाँ राप्रपाको उपस्थिति निकै न्यून छ । जुम्लामा आठ स्थानीय तह छन् । जसमध्ये राप्रपाले गत २० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लाभर जम्मा दुई वटा वडा सदस्य मात्र जितेको थियो ।

आफ्नो अभियानबाटै शाही चर्चित बने । देशमा बेथिति र भ्रष्टाचार बढी रहेको भन्दै त्यसको अन्त्यको लागि आफू अहिलेका जुनसुकै पार्टीका नेताहरूसँग पनि सजिलै चुनाव लडेर जित निकाल्न सक्ने शाही दाबी गर्छन् । तर, पार्टीको प्रभाव नै नभएको ठाउँबाट किन चुनाव लड्न लागेको भन्ने प्रश्नमा उनी भन्छन्,  ‘जुम्ला मेरो जन्मभूमि हो । त्यसको ऋण तिर्नु छ । जुम्लाका सुख दुःखसँग जीवन साट्नु छ । जुम्ली जनताले हराए पनि जिताए पनि स्वीकार्य छ ।’



एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्रका गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । अहिले भने उनले टिकट पाएका छैनन् । त्यस क्षेत्रका प्रभावशाली भनिने नरेश भण्डारी पनि चुनावी मैदान बाहिर छन् । 



जुम्लामा गोमा गौतम कुँवरलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ । उनी पार्टीकी केन्द्रीय सदस्य हुन् भने पूर्व मन्त्रीसमेत हुन् । यस पटक उनले गठबन्धनका तर्फबाट जुम्लामा प्रतिनिधि सभा सदस्यका लागि टिकट पाएकी हुन् । गठबन्धन दलका रूपमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रको भागबण्डा बमोजिम जुम्लामा प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रको भागमा परेको थियो । समानुपातिकबाट सांसद र संसदको अनुभव भए पनि  गोमा कुँवर ज्ञानेन्द्र जस्तै जुम्लाबाट पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेकी हुन् ।

जुम्लाबाट प्रतिनिधिसभाको लागि ज्ञानेन्द्र र गोमासँगै नेकपा एमालेबाट रतन नाथ योगी, नेपाल मजदुर किसान पार्टीबाट डिल्ली प्रसाद काफ्ले र स्वतन्त्र डा. कलबहादुर रोकाया पनि चुनावी मैदानमा छन् । 

भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका शाही सोही अभियानको क्रममा कहिले आक्रमणमा परे त कहिले प्रहरीसम्म पनि पुगे । अब भने उनी संसदमा पुग्ने दाउमा छन् । ‘जुन जुम्लाले नेपाली भाषा सिकायो र आज संसार भरी छरिएका नेपालीहरू सभ्य भए । जुन जुम्लाले देउसी भैलो, मष्टो संस्कृति मानव सभ्यताको उत्पति गरायो र नेपालीको पहिचान भयो, आज त्यही जुम्ला केन्द्रको दास बन्नु पर्ने किन ?,’ प्रश्न गर्दै शाहीले फेसबुकमा लेखेका छन्, ‘हो अब जुम्ली दास होइन राष्ट्रको नेतृत्व गर्नु पर्छ ।’

  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार २०:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया