मतदातासँगै फोहोर उठाउँदै प्रदेशसभाका उम्मेदवार देउवा

कैलालीमा चुनावी सरगर्मी बढेको छ । यतिबेला उम्मेदवार तथा नेताहरूलाई खाना खाने फुर्सद छैन । मतदाताको घरदैलोमा पुगेर हात जोड्दै सहयोगको अनुरोध गरिरहेका छन् । कैलाली क्षेत्र नम्बर ५ ‘ख’ बाट प्रदेश सभामा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका युवा नेता प्रकाश देउवा विहान देखि साँझ सम्म मतदाताको घर दैलोमा नै हुन्छन् । प्रकाश प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिजा समेत हुन् ।

उनी यस क्षेत्रका युवामाझ लोकप्रिय मानिन्छन् । गत वर्ष सम्पन्न कांग्रेस कैलालीको जिल्ला अधिवेशनमा लोकप्रिय मत पाएर महाअधिवेशन प्रतिनिधिमा निर्वाचित भएका देउवा धनगढीलाई सुन्दर सहरसँगै सुदूरपश्चिम प्रदेश सभामा युवाको अर्थपूर्ण उपस्थितिका लागि निर्वाचन लडेको बताउँदै आएका छन् । छिमेकी जिल्ला कञ्चनपुरको गुलरियामा जन्मे हुर्केका देउवाले उच्च शिक्षा अध्ययनका क्रममा कैलालीको धनगढीमा पनि लामो समयदेखि परिचित हुन् ।

प्रधानमन्त्री पत्नी एवं कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाका स्वकीय सचिवसमेत रहेका प्रकाश पछिल्लो ५ वर्षयता लगातार धनगढीमै रहेर काम गरिरहेका छन् । २०७४ सालको निर्वाचनमा डा. आरजु राणा देउवा कैलालीको निर्वाचन क्षेत्र नम्बर– ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेदेखि प्रकाश देउवा पनि यहाँका नेता तथा कार्यकर्तासँग निकट हुँदै यहाँको विकासको लागि लागि परेका छन् ।

यसपटकको निर्वाचनमा पनि आरजु लड्ने चर्चा भए पनि उनी अन्तिममा ब्याक भएर समानुपातिकमा बसेपछि हाल यस क्षेत्रमा संघीय सांसदमा यसअघि यसै प्रदेश ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका डिल्लीराज पन्त संघीय सांसद्का लागि उम्मेदवार बनेका छन् । 

कैलाली–५ ख का उम्मेदवार रहेका प्रकाश देउवा बिहानदेखि मतदातासँग भेटघाटदेखि सर–सफाइमा समेत जुट्न गरेका छन् । उनी धनगढीलाई हरित सहरका रुपमा निर्माण गर्ने प्रतिबद्धताका साथ अगाडि बढेका छन् ।

 ‘धनगढीको विकासका लागि नै मेरो उम्मेदवारी हो’, उनले भने, ‘यहाँका प्रमुख समस्याका रुपमा अव्यवस्थित सहरीकरण तथा बसोवासका साथै डुबान, अतिक्रमण र नदीकटान रहेको छ । यी समस्याका निराकरण गर्नका लागि एकीकृत दीर्घकालीन योजनामार्फत यस क्षेत्रको योजनाबद्ध विकासका लाग्ने हो ।’ 



धनगढीजस्तो ठूला सरकारको विकासका लागि स्थानीय र प्रदेश सरकारको बजेटले मात्र सम्भव नभएको हुँदा संघीय, विश्व बैंक, एसियाली विकास बैंकलगायतका दातृनिकायको समन्वयमा पूरै क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको सडक सञ्जाल विस्तार गर्न कार्य विशेष प्राथमिकतामा रहने देउवाले बताए । 

हाल सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको धनगढी बजार क्षेत्रबाट उम्मेदवारी दिएका प्रकाश देउवा पहिलोपटक निर्वाचन लड्दै छन् । हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार नजिक आउँदा पनि उम्मेदवारहरुलाई चुनावकै प्रचारमा जुटेका छन् ।



चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरू आफ्ना एजेन्डासहित मतदाताको घरदैलोमा पुगेका छन् । मतदाता रिझाउन सबैले आ–आफ्नो विशेषता, कलाशैली अपनाइरहेका छन् । गाउँ, टोलमा पुगेर उम्मेदवारहरु मतदाताहरुसँग आफूलाई भोट माग्न हात जोडिरहेका छन् । 

जतिजति चुनावको दिन नजिकिँदै गएको छ, त्यति नै उम्मेदवार तथा नेताहरूको धुपडी बढेको छ । कैलालीमा ठूला–साना धेरै दल चुनावमा होमिएका छन् । जित्ने आशा नै नभएकाहरू पनि आत्मविश्वासका खटिएका छन् । ठूला दलको प्रचार र भेटघाट त आक्रमक हुने नै भयो । पैदल हिँडेर, या धेरै–थोरै गाडी बोक्ने उम्मेदवारहरू यतिबेला जताततै देखिएका छन् ।

कैलालीका ५ वटा निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभामा ५ क्षेत्र भएपछि प्रदेश सभामा १० सिट हुने नै भयो । १० मध्ये अधिकांशमा सत्ता गठबन्धन र नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । 

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा विकास र समृद्धिको नारा लिएर उम्मेदवारहरू जनताको घरदैलोमा पुगेका छन् । उम्मेदवारहरूले समग्र एजेन्डा मात्रै नभएर गाउँठाउँअनुसारका समस्याहरूको समाधानका लागि विश्वास दिलाउँदै हिँडेका छन् । 

चुनावी प्रचारप्रसारले गाउँ–सहर ढाकिएका छन् । उम्मेदवारहरूको अटो रिक्सामा समेत फोटो टाँसेका छन् । समग्र विकासको एजेन्डाबाहेक उम्मेदवारहरूको आ–आफ्नै तर्क पनि छन् । 

कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार डिल्लीराज पन्तले गठबन्धनको सरकार बन्ने निश्चित रहेकाले आफूहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले भनेका छन्,  ‘ठूल्ठूला समस्याहरू स्थायी सरकारबिना समाधान हुन सक्दैन, केन्द्र र सुदूरपश्चिमा प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित रहेकाले हामीलाई जिताउनुस्, हामीले नै जिल्लाको विकास र समृद्धि गर्छौं ।’

उम्मेदवारहरु दैनिक तालिका बनाई बनाएर घरदैलोमा निस्कने गरेका छन् । सबैजसो उम्मेदवारले पहिलो चरणको घरदैलो अन्तिम चरणमा छन् । घरदैलो र टोलटोलमा प्रभाव पार्ने व्यक्तित्व र दलमा खुलेर नहिँड्ने व्यक्ति र समुदायलाई फकाउने अभियानमा सबै निस्केका छन् । 

पार्टीको सदस्य लिएका भन्दा पनि मत हाल्ने तर पार्टीका पछाडि नहिँड्ने ठूलो समूह नै जित–हारको निर्णायक हुने भएकाले नेताहरूको ध्यान त्यस्ता व्यक्ति र समुदायमा केन्द्रित भएको छ ।  

कैलाली ५ ‘ख’ कांग्रेस नेता प्रकाश देउवासँगै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेकातर्फबाट धनगढीको मेयरमा पराजित दुर्गा जोशी प्रदेशसभा सदस्यको उम्मेदवार रहेका छन् । यस्तै, कांग्रेसकै अर्का नेता क्षितिज भण्डारीसमेत देउवाको प्रतिस्पर्धी भएकाले उनलाई जित्नलाई चुनौती समेत उत्तिकै रहेको छ ।

यस क्षेत्रको प्रदेशसभा ‘ख’ मा धनगढी उपमहानगरपालिका वडा नम्बर १ देखि ६, ११ र १३ नम्बर वडा रहेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडा नम्बर ११ एमाले, वडा नम्बर ६ माओवादीले जितेका वडा हुन् भने बाँकी ६ वटा वडामा प्यानलसहित कांग्रेसले जितेको हो ।

  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १५:२४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया