नवौं राष्ट्रिय खेलकुद  : अन्तिम दिनका खेलमा क–कसले पाए पदक ?

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिसतर्फ ‘मेन्स टिम’ इभेन्टसको स्वर्ण प्रदेश १ ले जितेको छ । बिहीबार भएको फाइनल खेलमा प्रदेश १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको  हो ।

प्रतियोगिताअन्तर्गत पहिलो सेट नेपाल प्रहरीले डबल्समा प्रदेश १ लाई ५–१ , दोस्रो सिंगल्स प्रदेश १ ले नेपाल प्रहरीलाई ४–० तथा प्रदेश १ ले डबल्समा ५–१ को सेटले नेपाल प्रहरी पराजित भएको हो ।

स्वर्णपदक प्राप्त गर्ने खेलाडीहरुमा प्रदेश १ का युकेश योञ्जन, अशिष बोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन् । 

त्यस्तै, नेपाल प्रहरीका कमल भण्डारी, सुबोध अधिकारी, नौंबहादुर लङगेली, हरिबहादुर बस्नेत र भीमबहादुर थापा मगरको टिमले रजतमा चित्त बुझाउनुपरेको छ ।

कबड्डी 
नवौं राष्ट्रिय खेलकुदअन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दोहोरो स्वर्ण जितेको छ ।

बिहीबार पोखरामा सम्पन्न पुरुष फाइनलमा लुम्बिनी प्रदेशलाई ४१–२० ले र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३ ले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो । 



प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब, यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र एपिएफ कास्यपदक विजेता बने । आर्मीले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवैमा स्वर्ण जितेको थियो । 

यही असोज ३० गतेदेखि शुरु भएको प्रतियोगितामा महिला तथा पुरुषमा गरी सात प्रदेश र ३ विभागिय गरी १०– १० टिमको सहभागिता रहेको थियो ।



टेनिस 
टेनिसमा नेपाली सेना चार स्वर्ण सहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ । यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्वितीय बन्न सफल भयो । 

बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जिते । नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले एक रजतमा चित्त बुझायो ।

यसैगरी, आज सम्पन्न टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाका अभिलाषा विष्टले स्वर्ण पदक जिते ।

पोखरा रङगशालाको टेनिस कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा पुरुष एकलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट हाडालाई ७–६,६–३ सेटमा जित निकाल्दै स्वर्ण पदक जिते । खड्काले स्वर्ण जित्दा हाडाले कास्यमा चित्त बुझाए ।

यसैगरी, महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाका अभिलाषाले सेनाकै इरा रावतलाई ६–१, ६–२ सेटमा पराजित गर्दै स्वर्ण जिते । पुरुष एकलतर्फ गण्डकीले स्वर्ण र एनआरएनले रजत पदक जित्दा सशस्त्र प्रहरीका सन्तोष खत्री र सेनाका प्रणव खनालले कास्य जिते । 

महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा बागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जिते ।  पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडी रजत पदक जितेको छ । गण्डकीका आशिष खड्का र सौगात विकको जोडी र बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीले कास्य जिते । 

महिला युगलबिधामा नेपाली सेनाका अभिलाषा र आइरा महर्निषा रावतको जोडीले स्वर्ण जित्दा बागमतीका प्रकृति श्रेष्ठ र रायना शाको जोडीले रजत पदक जिते । सेनाका इशाश्री शाह र सुभांगी लक्ष्मी शाहको जोडी र सशस्त्रका सुनिरा थापा र सर्भानी श्रेष्ठको जोडीले कास्य जिते । 

टेनिसको मिश्रित युगलको विधामा सेनाका प्रणव र अभिलाषाको जोडीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीका आर्यन गिरी र आइसा डोल्कर गुरुङको जोडीले रजत पदक जिते । सेनाका अनिल साई र प्रीति बरालको जोडी र सशस्त्रका गोविन्द नेपाली र इशाश्री शाहको जोडीले कास्य पदक जिते । 

टेनिसको टिम इभेन्ट विधामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा च्याम्पियन टोली तथा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे । 

पुरुष हक्की
नवौ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हकी प्रतियोगितामा नेपाल आर्मी टाईब्रेकरमा विजयी भएको छ । हेम्जाको गौरीशंकर खेल मैदानमा विहीबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी २–१ गोल अन्तरले विजयी भएको हो । 

खेल अवधिभर कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाईब्रकरमा पुगेको थियो । टाईब्रकरमा आर्मीका रोशन चौधरी र प्रदिप राजवंशीले गोल गरेका थिए । 

यता नेपाल पुलिसको तर्फबाट नविन क्षेत्रीले एक गोल गरेका थिए भने  शशि दर्लामीले गरेको गोल आउट हुन पुगेपछि आर्मीलाई विजेता हुन अवसर मिलेको हो । 

आर्मीले आठौँ खेलकुदमा पनि फार्र्ईनलमा नेपाल पुलिसलाई हराउँदै स्वर्ण जितेको थियो ।  यस्तै, आजै भएको पहिलो खेलमा कर्णालीलाई हराउदै गण्डकीले कास्य पदक जितेको छ । गण्डकीले ३–० को गोलअन्तरले कर्णालीलाई हराएको हो । 

गण्डकीका लागि खेलको १० औं, २७ औ र ४४ औं मिनेटमा पिताम्वर थापाले गोल गरेका थिए भने ५७ औं मिनेटमा विशाल कुमालले गोल गरेका थिए । प्रतियोगितामा ९ टिम सहभागी थिए ।

खोखो 
पोखरा रंगशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्बिनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो ।

महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ । विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो । 

राउन्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बागमती प्रदेशले रजत पदक हात पारेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलातर्फ प्रदेश १ लाई पराजित गर्दै कास्य पदक जितेको हो । 

पुरुषतर्फ बागमती प्रदेश १ लाई नै हराउँदै बागमती प्रदेशले काँस्य पदक जितेको छ । बागमतीले २८–७ अंकले प्रदेश १ लाई पराजित गरेको हो । असोज ३० देखि सुरु भएको प्रतियोगितामा २ विभागीयसहित नौ टिम सहभागी थिए ।

पुरुष भलिबल 
पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ । पहिलो सेट २५–२१ ले एपिएफको पक्षमा पर्यो ।

दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपिएफले २७–२५ ले बाजी मार्यो । तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा भलिबल कोर्टवरिपरि टम्मै भरिएका दर्शकले खेलको भरपूर आनन्द लिए । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन । अन्ततः एपीएफले तेस्रो सेट पनि २६–२४ ले टुंग्याउँदा आर्मीले रजतमा चित्त बुझायो । 

एपिएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभ समेत कमजोर हुँदा अंक बटुल्न सफल भएको बताए । आर्मीको खेल नराम्रो भन्न मिल्दैन, उनले भने, हाम्रो ब्लक र डिफेन्स बलियो हुँदा यसपल्ट आर्मीको दबदबालाई तोडेर जित हात पार्न सफल भएका छौं ।

आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपिएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । 

एपिएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपिएफले स्वर्ण जितेको थियो । नवौंमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपिएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो ।  

बिहीबार नै कांस्य पदकका लागि भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० मै समेट्यो । पहिलो सेट २६–२४ ले प्रतिस्पर्धात्मक बने पनि दोस्रो र तेस्रो सेटमा भने गण्डकीको खेल खस्कियो । पुलिसले दोस्रो र तेस्रो सेट क्रमशः २५–१४ र २५–१८ ले आफ्नो पक्षमा पारेर कांस्य हात पार्‍यो ।

प्रतियोगिता अवधिभर कुनै खेल पनि पाँच सेटसम्म पुगेन । भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिम सहभागी थिए ।

  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १८:२१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया