logo-img

तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै बानियाँलाई गरे समर्थन


मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ का उम्मेदवार पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् । बिपी कांग्रेसका उम्मेदवार तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई समर्थन गरेका हुन् ।

आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताए । पार्टी सञ्चालनका क्रममा भएका केही कमजोरीका कारण चित्त दुखेर आफूले उम्मेदवारी दिए पनि आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्त जस्ता उपलब्धि गुम्न सक्ने र अहिलेको व्यवस्था मास्नेहरूलाई नै बल पुग्ने खतरा देखेपछि उम्मेदवारी स्थगन गरेको बताए । 

उनले नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामासहितका जिल्ला र प्रदेशका नेता कार्यकर्ताहरूको आग्रहलाई स्वीकारेको बताएका छन् । उनले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई विजयी गराउने आफ्नो अबको अभियान रहेको र यसमै आबद्ध भई अघि बढ्न म आफ्ना समर्थकलाई अपिल समेत गरेका छन् । पत्रकार सम्मेलनमा बानियाँले तितुङ त्यस क्षेत्रकै अगुवा कार्यकर्ता भएको र उनको समर्थन र साथले त्यस क्षेत्रका विकास चाहने जनता र नेपाली कांग्रेस उत्साहित भएको बताए ।

पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, प्रदेश कार्यसमिति सदस्य सन्तबहादुर चेपाङ, चम्फुरत्न लामा, सचिव भीमसेन महत, जिल्ला सहसचिव ताराचन्द्र बजगाईँ, संघीय क्षेत्र नम्बर २ सभापति लोकबहादुर मुक्तान, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य बनस्तम थिङ,  लगायतको उपस्थिति रहेको थियो । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १३:२१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया