हामी जति बोल्छौँ, त्यति काम गरेर पनि देखाउँछौँ : प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस झुटो बोलेर जनतामा भ्रम छर्ने पार्टी नरहेको बताएका छन् । मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रममा उनले निर्वाचनपछि कांग्रेससहितको गठबन्धनको सरकार बन्ने र देश समृद्धिको बाटोमा जाने बताए ।

उनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १६५ सिटमध्ये सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै कांग्रेस एक्लैले ९१ सिटका लागि उम्मेदवारी दिएको बताउँदै आगामी सरकारको नेतृत्व पनि स्वभाविक रूपमा कांग्रेसले नै गर्ने बताए । 

सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा औपचारिक निर्णय वा सहमति भने भइनसकेको उनको भनाइ छ । गठबन्धनको अगुवा दल भएको कारण कांग्रेसकै नेतृत्वमा सरकार बन्ने प्रष्ट भएको महतले बताए। नेपाली कांग्रेस भाषण धेरै गर्ने भन्दा पनि काम गरेर देखाउने पार्टी भएको समेत महतले बताए । 

‘कांग्रेस ओली जी जस्तो भाषण गर्न पाउँदा १ घण्टा गर्ने तर काम भने सिन्को नभाँच्ने पार्टी होइन । हामी जति बोल्छौँ, त्यति काम पनि गरेर देखाउँछौँ,’ महतले भने । उनले संविधानको रक्षा, व्यवस्था जोगाउँदै जनताको अवस्था परिवर्तन, मुलुकमा स्थिरता र समृद्धि ल्याउन गठबन्धन निर्माण भएको बताए । 

‘केपी ओलीकै कारण नेकपाले जनताबाट पाएको पाँच बर्से म्यानडेड जोगाउन सकेन । बरु फुटेर अहिले तीन टुक्रा भयो । त्यसमध्ये दुईवटा दल अहिले कांग्रेससँग छ । केपीजीले पनि गठबन्धन त गर्नुभएकै छ । ओलीजीको जुन जुन प्रवृत्ति छ, त्यसले मुलुकलाई सधैं पछाडि धकेल्छ’, महतले भने । 

उनले मकवानपुरमा गठबन्धनका सबै उम्मेदवार सक्षम र सशक्त रहेको भन्दै गठबन्धनकै उम्मेदवारलाई मत दिएर विजयी गराइदिन आग्रहसमेत गरे ।  





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १२:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया