दाङका तीन निर्वाचन क्षेत्रमा ८ महिलाबीच प्रतिस्पर्धा

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । 

दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले) की शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा छन् । 

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटबाट रुक्मिणी चौधरी र हाम्रो नेपाली पार्टीबाट गंगा चौधरी सत्गौवा पनि चुनावी मैदानमा छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी पनि चुनावमा होमिएका छन् । दाङ क्षेत्र नम्बर १ मा पाँच महिला प्रतिस्पर्धामा छन् । देउखुरी उपत्यकाका चार गाउँपालिका र घोराही उपमहानगरपालिकाको १, २, ३ र ५ वडा दाङ क्षेत्र न १ मा पर्दछ । 

क्षेत्र नं १ ‘क’ मा ७० हजार दुई सय ६७ र (ख) मा ६४ हजार चार सय ६६ मतदाता छन् । क्षेत्र नं (क) मा २४ मतदानस्थल र ७८ मतदान केन्द्र कायम गरिएको छ ।  क्षेत्र नं १ (ख) मा २७ मतदानस्थल र ७४ मतदान केन्द्र रहेको क्षेत्र नं १ का निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए । 

क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट पार्टीका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल र सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री रेखा शर्मा प्रतिस्पर्धीमा छन् । 

नेपाल आमा पार्टीकी गीता रावत पनि चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ दुई महिला प्रतिस्पर्धीमा छन् । क्षेत्र नं २ (क) मा ६३ हजार तीन सय २२ तथा (ख) मा ७० हजार चार सय २६ मतदाता छन् । क्षेत्र नं २ (क) मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र तथा क्षेत्र नं २ (ख) मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको छ । 
 
क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेकी केन्द्रीय सदस्य कोमल वली र सत्तारुढ गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी चुनावी मैदानमा छन् । दाङका जनताको भावना, चाहना र आवश्यकताका आधारमा काम गर्ने प्रतिबद्धता वलीको छ ।  



पूर्वसञ्चारकर्मी एवं गायिका वली २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र न ३ बाट समानुपातिक सांसद चुनिएकी थिइन् । क्षेत्र नं ३ मा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार वली मात्रै छिन् ।

क्षेत्र नं ३ (क) मा २१ मतदानस्थल र ७४ मतदान केन्द्र तथा क्षेत्र नं ३ (ख) मा ३३ मतदानस्थल र ९३ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । चार लाख १९ हजार नौ सय सय २४ मतदाता छन् । एक सय ५३ मतदानस्थलमा चार सय ६५ मतदान केन्द्र तोकिएको छ । 



  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार ९:३९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया