logo-img

कांग्रेसमा खुले अभिनेता प्रदीप खड्का, नवलपरासी पुगेर विनोद चौधरीका लागि मागे भेट

देशमा चुनावी सरगर्मी बढिरहँदा कलाकारहरुमा पनि विभिन्न उम्मेदवारलाई समर्थन गर्दै उनीहरुको पक्षमा माहोल बनाउने लहर चलेको छ । 

आइतबार निर्देशक प्रदीप भट्टराईलगायत केही कलाकारहरुले काठमाडौं १ मा घण्टी चिह्नबाट चुनाव लड्दै गरेका पुकार बमको पक्षमा मत मागेका थिए । केही कलाकार स्वतन्त्र बसे पनि अधिकांश कलाकार राजनीतिमा खुल्न थालेका छन् । 

अभिनेत्री रेखा थापा, करिश्मा मानन्धर, गायिका कोमल ओली लगायत त सक्रिय राजनीतिमा नै लागिसकेका छन् । रेखा राप्रकाका तर्फबाट मोरङमा प्रत्यक्ष निर्वाचन लडिरहेकी छिन् भने कोमल दाङमा एमलेका तर्फबाट प्रत्यक्ष उममेदवार नै छिन् । 



यसैबीच, अभिनेता प्रदीप खड्का नेपाली कांग्रेसमा खुलेका छन् । मंगलबार नवलपरासी पुगेर उनले कांग्रेस उम्मेदवार विनोद चौधरीका लागि भोट मागेका छन् । 

बर्दघाट–१२ मा आयोजित चुनावी सभामा प्रदीपले चौधरीको पक्षमा भाषण नै गरे । चुनावी सभामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँगै प्रदीपलाई पनि अतिथिका रूपमा मञ्चमा आसन ग्रहण गराइएको थियो ।

चौधरीले आफ्नो फेसबुकमा राखेको तस्बिरमा प्रदीपले पनि सभालाई सम्बोधन गरेको देखिन्छ । विनोद चौधरीका छोरा तथा चौधरी ग्रुपका कार्यकारी निर्देशक वरुण चौधरीसँगको मित्रताका कारण उनी चौधरीको पक्षमा भोट माग्नका लागि चुनावी आमसभामा सहभागी भएका हुन् । 



उनले चौधरीलाई जिताउन त्यहाँका स्थानीयहरूलाई आग्रह गरेका छन् । चाँडै नै चौधरी ग्रुपले नेपाली फिल्म निर्माण गर्ने र त्यसमा प्रदीपलाई मुख्य भूमिकामा राख्ने तयारी रहेको बुझिएको छ । 



  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार २२:५४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया