दीपक मनाङेलाई निर्वाचन आयोगको २५ हजार जरिवाना

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ)लाई निर्वाचन आयोगले २५ हजार रुपैयाँ जरिवाना गरेको छ। 

उनले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको सम्बन्धमा जरिवाना गरिएको आयोगले जनाएको छ।

मनाङेले ३० लाख खर्च गरेर चुनाव नजितिने १५ लाख त मनोनयन गर्दा रक्सीमै सकिएको बताएका थिए । सोही अभिव्यक्तिका कारण उनलाई आयोगले जरिवाना गरेको हो । 

एक अन्तर्वाताको क्रममा गुरुङले बोलेको भिडियो यसअघि विभिन्नमाध्यममार्फत सार्वजनिक भएपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।

मनाङे गण्डकी प्रदेश सभा सदस्यमा मनाङ ख बाट निर्विरोध निर्वाचित भइसकेका छन् । यद्यपि आयोगले यसबारे औपचारिक घोषणा गरेको छैन । 

यस्तो छ आयोगको निर्णय



प्रस्तुत मिसिल संलग्न कागजात अध्ययन गरी हेरियो। यसमा गण्डकी प्रदेश सभा सदस्य मनाङ “२” का उम्मेदवार,एवम् गण्डकी प्रदेशका माननीय युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले आचार संहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको (“जुन अहिले निर्चवाचन आयोगले ३३ लाख ३० लाख भन्दा बढी खर्च गर्नु हुदैन भनेको छ …३० लाखमा नेपालमा चुनाव जित्छ यार… मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाईदिन्छ”) अभिव्यक्तिको श्रव्यदृष्य सामग्री सार्वजनिक भई निज प्रत्यर्थीबाट निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्ने सूचना यस आयोगमा प्राप्त हुन आएको रहेछ।

आयोगमा प्राप्त सूचनाको आधारमा निज प्रत्यर्थी राजिव गुरुङलाई के कसो भएको हो? भनी स्पष्टीकरण सोधिएकोमा निज प्रत्यर्थीबाट प्रेषित स्पष्टीकरण जवाफ हेर्दा केही  दिन अगाडि अनलाईन मिडियामा अन्तर्वाता दिएको, सो कुरा उम्मेदवारी दर्ता गर्दा निर्वाचनमा हुने खर्चको कुरा स्थानीय निर्वाचन, २०७९ मा विभिन्न दलका उम्मेदवारहरुले गरेको तडक भडकलाई देखेर व्यक्त गरेको, अन्तर्वाताको क्रममा अभिव्यक्त गरेको कुरा निर्वाचनको समयमा रक्सी उपर आयोगले प्रतिवन्ध लागाउनु पर्छ भन्ने सम्म हो,  अन्यथा उम्मेदवारलाई मर्का पर्छ भन्ने आशय हो, आफु मंगोलियन समुदायको सदस्य त्यही संस्कार, सभ्यतामा हुर्केको,  सो अन्तवार्तमा व्यक्त भएका शब्दहरुले राष्ट्रिय रुपमा सम्मानित आयोग, आयुक्तहरु तथा निर्वाचन आयोगमा खटिनु भएका कर्मचारीले नमिठो महसुस गर्नु भएको भएको भए यस प्रति क्षमा याचना गर्दछु भन्ने बेहोरा उल्लेख भएको देखियो।



यसमा गण्डकी प्रदेशका माननीय युवा तथा खेलकुद मन्त्री एवम् गण्डकी प्रदेश सभा सदस्य मनाङ “२”  का उम्मेदवार, राजिव गुरुङले निर्वाचन आचार संहिता प्रतिकूल हुने गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा भएको निर्वाचन खर्च सन्बन्धी आचरणको खण्ड (क), (ख), (ङ), (ज), (झ) र (ट) तथा ऐ.को दफा ४, मा भएको सवैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (न) र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची-५ र  ६को खण्ड (त) र (थ) को  प्रतिकुल हुने गरी मनाङ्गमा मनोनयन गर्दाको एक दिनमात्रै रक्सी खुवाउँदा १५ लाख खर्च लाग्ने भन्ने समेतको अभिव्यक्ति  दिएको हो वा होइन? र दिएको भए सो अभिव्यक्ति दिएबाट निज प्रत्यर्थी राजीव गुरुङले निर्वाचन आचार संहिता उल्लंघन गरेको ठहर्छ, ठहर्दैन? ठहर्छ भने निजलाई के- कस्तो सजाय हुनुपर्ने हो? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो।

  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार २०:८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया