विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब, गभर्नर अधिकारी भन्छन्–सानोतिनो धक्काले जोखिम आउँदैन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको दाबी गरेका छन् । मंगलबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७९/८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

नेपालका बैंक वित्तीय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गर्दै गभरनर अधकिारीले तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जोखिम नआउने बताए । सबैखाले वित्तीय संस्थाहरुको तथ्यांक बलिया रहेको बताउँदै उनले बैंक तथा वित्तीय संस्थामा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताए । 

पछिल्लो समय बैंकहरुमा तरलता सहज हुँदै आएको उनले बताए । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको उनले बताए । बैंक तथा वित्तीय संस्थाहरु सुरक्षित बन्नुमा राष्ट्र बैंकको मजबुत नीति भएको उनले दाबी गरे ।
 
अर्थतन्त्रको सिथिलता आगामी दिनमा सुधार हुने बताउँदै गभर्नर अधिकारीले बैंकर र व्यवसायीलाई आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । उनले भने,‘समग्रमा बैंक तथा वित्तीय संस्थाको सुरक्षाको सन्दर्भमा नेपालका वित्तीय संस्था र वित्तीय क्षेत्र सुरक्षित छ । सानो तिनो धक्काले कतै अफ्ठ्यारो पर्ने अवस्था देख्दैनौँ ।’ 

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गरे । फागुनदेखि कर्जाको ब्याजदर स्थिर भए पनि बेसरेट घट्दो दरमा रहेको भन्दै उनले ब्याजदर केही माथि रहेको बताए । विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको बताउँदै उनले पुँजी पर्याप्तता नियामकीय व्यवस्थाभन्दा माथि रहेको र निष्क्रिय कर्जा केही बढे पनि धेरै माथि नपुगेको बताए । 

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो चार महिनामा निरन्तर रुपमा १ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको अवस्था देखिएको छ । चालू आर्थिक वर्षको औषत रेमिट्यान्स ९९ अर्बप्रति महिना भित्रिएको छ । यता, सरकारको चालू खाता घाटामा सुधार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म चालू खाता ४४ अर्ब ३१ करोडले घाटामा छ । 

अघिल्लो वर्षको ८ महिनामा ४ सय ६० अर्बले ऋणात्मक रहेको चालू खाता घाटामा उल्लेख्य सुधार भएको हो । त्यस्तै, विदेशी विनिमय सञ्चिति पनि सुविधाजनक अवस्थामा देखिएको छ । गत असार मसान्तमा १२ सय १५ अर्बको सञ्चिति रहेकोमा अहिले १४ खर्ब १ अर्ब सञ्चिति रहेको छ । 



फागुन मसान्तसम्म शोधनान्तर स्थिति (नेपालबाट बाहिरिने र भित्रीले विदेशी मुद्राको अन्तर) १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा गएको छ । माघ मसान्तसम्म १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति १५ अर्बले सुधार भएको हो । 

गत वर्ष फागुन मसान्तसम्म शोधानान्तर स्थिति २ खर्ब रुपैयाँले घाटामा थियो । असोज यता शोधनान्तर स्थिति निरन्तर बचतमा छ । चालू आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढ्नुको साथै आयात २० प्रतिशतले घटेपछि शोधनान्तर स्थिति बचतमा गएको हो । 



वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा बढेको छ । माघमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालू आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ७.४४ प्रतिशत कायम भएको हो । माघ मसान्तसम्म महँगी ७.८८ प्रतिशत थियो । गत वर्षको तुलनामा भने महँगी बढेको हो ।

  • प्रकाशित मिति : चैत २८, २०७९ मंगलबार १७:२७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया