उपमेयरले बोतल प्रहार गरेकाे प्रशासकीय अधिकृतकाे आराेप, उपमेयर भन्छिन्– उनले मुक्का प्रहार गर्न लाग्दा बचाउ गरेकाे मात्रै हाे

महोत्तरीको बलबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरले आफूमाथि उपमेयर रामदुलारीदेवी ठाकुरले बोतल प्रहार गरेकाे आराेप लगाएका छन् । आफ्नै कार्यकक्षमा आसमान नेपालका कर्मचारीसँग मिटिङ गरिरहेका बेला उपमेयर ठाकुरले बोतल प्रहार गरेकाे उनकाे आराेप छ । 

बलबा नगरपालिका वडा नम्बर–७ बनौटामा निर्माण भइरहेको सडकको काम आफूसँग नसोधी रोकेको भन्दै उपमेयर ठाकुरले प्रमुख प्रशासकीय अधिकृत ठाकुरमाथि कार्यकक्षमै बोतल प्रहार गरेको बताइएको छ । 

प्रमुख प्रशासकीय अधिकृत ठाकुरले उपमेयरकै योजनाअन्तर्गत रहेको सो सडक २५ लाखको लागतमा निर्माण भइरहेको अवस्थामा स्थानीयले ९ फिट मात्र नभई १४ फिट सडक निर्माण गर्नुपर्ने माग गर्दै कार्यालयमा लिखित जानकारी दिँदा आफूले काम रोक्न लगाएको बताए । उनले स्थानीयको मागलाई ध्यानमा राख्दै काम रोकिएको र सोही कुरालाई इस्यु बनाएर उपमेयरले आफूसँग दुर्व्यवहार गरेको आरोप लगाएका छन् । 

यता, उपमेयर ठाकुरले भने आफूले प्रमुख प्रशासकीय अधिकृतमाथि बोतल प्रहार नगरेको दाबी गरेकी छन् । उनले भनिन्, ‘मैले प्रमुख प्रशासकीय अधिकृतलाई बोलाएर ल्याउन कार्यालय सहयोगीलाई तीनपटक उनको कार्यकक्षमा पठाएँ । तर, पनि वहाँ आउनुभएन । मैले पटक–पटक फोन गर्दा फोन उठाउनुभएन । अनि पछि म आफैँ उहाँको कार्यकक्षको गेटमा पुगेर उहाँलाई कृपया यहाँ आउनुस् मलाई तपाईंसँग कुरा गर्नुछ भन्दा उहाँले उल्टै तपाईंसँग म कुनै कुरा गर्न चाहँदिनँ भनेर मेरो अपमान गर्नुभयो ।’

उपमेयर ठाकुरले सोही क्रममा सामान्य भनाभन हुँदा प्रमुख प्रशासकीय अधिकृत ठाकुरले आफूमाथि मुक्का प्रहार गर्ने प्रयास गरेको सुनाइन् । उनले सोही क्रममा स्वयंलाई बचाउन आफूले त्यहाँ नजिकै रहेको पानीको बोतल उठाएको बताइन् । तर, आफूले सो बोतल प्रमुख प्रशासकीय अधिकृतमाथि प्रहार भने नगरेको उनको दाबी छ । 

उपमेयर ठाकुरले भनिन्, ‘नगरपालिकामा कुनै पनि काम हुँदा मलाई बायकट गर्दै मेयर र हाकिम मिलेर मात्र सबै काम गर्छन् । अनुगमन समितिको अधिकार मसँग हुँदाहुँदै उनीहरुले मेरो अधिकारको हनन गर्दै मलाई जानकारी नै नदिई अनुगमनसमेत गर्छन् । मेयर र हाकिम मिलेर अनुगमनविना नै भुक्तानी पनि दिन्छन् ।’



आफूले न्यायिक समितिको व्यवस्थापनका लागि कार्यविधि बनाएर हाकिमलाई तिनपटक बुझाए पनि विगत ११ महिनादेखि कसैले कुनै समन्वय नगरेको उपमेयर ठाकुरको गुनासो छ । उपमेयर ठाकुरले नगरप्रमुख रामविजय महतो र प्रमुख प्रशासकीय अधिकृत प्रमोद ठाकुर मिलेर कार्यालयमा बितण्डा मचाएको आरोपसमेत लगाएकी छन् । उनले प्रश्न गर्दै भनिन्, ‘यस पालिकामा मेयरको काम मात्रै हुने तर मेरो काम नहुने ? के म निर्वाचित जनप्रतिनिधि होइन ?’

उनले मेयर महतोले आफ्नो कामहरु रोक्का गर्न लगाएको आरोप लगाउँदै यस विषयमा गुनासो गर्दा मेयरले मैले तपाईंको कामहरु रोक्का गरेको छु जे मन लाग्छ गर्नुस् भन्दै उल्टै थर्काउँदै आएको सुनाइन् । उनले मेयर, प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारी पनि दिउँसो २ बजे मात्र कार्यालय आउने गरेको आरोपसमेत लगाएकी छन् । 



यस सम्बन्धमा नगरप्रमुख रामविजय महतोले उपप्रमुखले पटकपटक नगरपालिकामा विवाद मात्र गर्दै आएको आरोप लगाए । उनले उपप्रमुख ठाकुरको काम नै आफूमाथि आरोप लगाउनुबाहेक अन्य केही नभएकोसमेत बताए । 

उनले भने, ‘अहिले हामीसँग प्रशासनीक भवनको अभाव छ । हामी सबै कुरा मिलाउनमा लागेका छौं । भवनको अभावमा कर्मचारीलाई पनि काम गर्न समस्या भइरहेको छ । तर, बीच बीचमा उपप्रमुखले सामान्य कुरालाई पनि इस्यु बनाएर बितण्डा मताउँदै आएकी छन् । उनको कार्यशैलीबाट धेरै दुःखी छु ।’

न्यायिक समिति र अनुगमनको सवालमा आफूले उपप्रमुखलाई कुनै बाधा अवरोध नगरेको उनको दाबी छ । अन्य व्यवस्थापनको काम चाँडै टुंगिने नगरप्रमुख महतोले विश्वास व्यक्त गरेका छन् ।

  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार १६:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया