धनगढीका मेयरको एक वर्ष : कति सफल, कति असफल ?

धनगढी सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो । गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धनगढीमा स्वतन्त्र उम्मेदवार विजयी भएपछि चर्चामा रह्यो । राजनीतिक दलका उम्मेदवारलाई पछाडि पार्दै  स्वतन्त्र उम्मेदवार विजयी भएपछि धनगढी उपमहानगरपालिकाका मेयरको कार्यशैलीलाई धेरैले नजिकबाट नियालिरहेका छन् । 

धनगढी उपमहानगरपालिकाबाट निर्वाचित स्वतन्त्र उम्मेदवार गोपाल हमालले गत वैशाख ३० मा सम्पन्न भएको निर्वाचन पश्चात जेठ ९ मा   पद ग्रहण गरेका थिए । फरकधारले मेयर हमाललाई सोध्यो–कस्तो रह्यो एक वर्षको कार्यकाल ? जवाफमा मेयर हमालले भने,‘जनचाहना अनुसार नै काम गरिरहेको छु, कामको मूल्याङ्कनको जिम्मा नगरवासीको हो ।’ 

मेयर हमालले पहिलो एक वर्षको अवधिमा उपमहानगरपालिकासँग उपलब्ध स्रोत–साधनको सदुपयोग गर्दै योजना सम्पन्न गर्ने प्रयास गरिएको बताउँदै सोही अनुसारका काम भएको दाबी गरे । नगरका नागरिकको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर विशेषज्ञ वडा क्लिनिक सेवा सुरु गरिएकाले पैसाको अभावमा रोग पालेर बस्नुपर्नेको निःशुल्क औषधि उपचार भइरहेको मेयर हमालको जिकिर छ ।

सामुदायिक पशु व्यवस्थापनका लागि गौशाला व्यवस्थित गर्ने, खोलानाला, ताल तलैया, सार्वजनिक जग्गा अतिक्रमण हटाउन अभियान सुरु गरिएको, मुख्य सडक चौडा पार्ने जस्ता महत्त्वपूर्ण कामको थालनी पहिलो वर्षको उपलब्धिका रूपमा लिइएको हमालले बताए ।  

मेयर हमालका प्रतिद्वन्द्वी तथा पूर्व मेयर नृपबहादुर वडलाई धनगढी उपमहानगरपालिकाले यो एक वर्षमा गरेको कामको मुल्याकंनबारे फरकधारले सोधेको प्रश्नमा प्राप्त जवाफ उत्साहजनक थिएन ।



‘मेरै कार्यकालमा सुरुवात गरिएका केही महत्त्वपूर्ण कामलाई मेयर हमालले अघि बढाउनु भएको छ,’ पूर्व मेयर वडले गरेको समीक्षाको सारांस थियो,‘उहाँले अधिकांश कार्यक्रम सस्तो लोकप्रियताका लागि मात्र ल्याउनुभएको छ ।’

‘मेरो कार्यकालमा तीन वर्षको समय लगाएर खोलानाला अतिक्रमणबारे अध्ययन गरेर प्रतिवेदन बनाइएको थियो । ६ लेनमा बत्ती जडान गर्ने योजना त्यही बेलाको हो, अहिलेसम्म तिनै काम अघि बढाइएको पाएको छु’ वडले मेयर हमालको एक वर्षे कार्यकालको निचोड सुनाए । उनले मेयर हमालले आगामी असारमा कस्तो खालको बजेट र योजना ल्याउँछन् भन्ने कुरा पर्खेर बसेको बताउँदै त्यसपछि बाँकी प्रतिक्रिया दिने बताए । 



त्यस बेला मेयरका अर्का उम्मेदवार रहेका नेकपा एमालेका रणबहादुर चन्दले कार्यमुखीभन्दा पनि प्रचारमुखी बढी भएपछि मेयर हमालले जनअपेक्षाअनुसार काम नगरेको टिप्पणी गरेका छन् । 

‘संघीय सरकारले सञ्चालन गरेका बाहेक उपमहानगरपालिकाले आफ्नै कार्यक्रम तथा योजना कार्यान्वयन गर्न नसकेका कारण जनतामा निराशा छाएको छ,’ फरकधारसंगको कुराकानीमा मेयर हमालको एक वर्षीय कार्यकालको समीक्षा गर्दै चन्दले सुनाए, ‘नगर क्षेत्रमा क्रियाशील राजनीतिक दलहरूसँग कुनै समन्वय नगरेर काम गर्ने प्रवृत्ति देखियो ।’

  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार १७:१५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया