डिजिटल उपकरणको प्रयोगले आँखामा मायोपियाको जोखिम बढ्दै

नेपाल नेत्र ज्योति संघ अन्तर्गतको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालको आयोजनामा विराटनगरमा सम्पन्न मायोपिया सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीहरूले डिजिटल माध्यामहरूको बढ्दो प्रयोगले  विश्वमा नै मायोपिकको जोखिम बढ्दै गएको भन्दै सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन् ।

विश्व मायोपिया सचेतना सप्ताहका अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्यशाला गोष्ठीमा सहभागीहरूले समयमै सचेत भएर सावधानी अपनाए यो जोखिमबाट बच्न सकिने कुरामा जोड दिए ।

आँखामा देखिने मायोपिया रोग विशेषगरी स–साना बालबालिकामा बढी देखिने गरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा विश्वको आधी जति जनसंख्या मायोपिक हुनसक्ने अनुमान गरेको छ । पहिले देखि मायोपियाको समस्या रहेका आमा–बुवाबाट जन्मिएका सन्तानमा मायोपियाको सम्भावना बढी देखिएको छ । त्यस्तै, कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय विताउने बालबालिकामा पनि मायोपियाको समस्या हुने विज्ञहरू बताउँछन् ।

मायोपिया भएमा व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । सामान्य आँखाले हेर्दा कुनै पनि वस्तुलाई टाढाबाट हेर्दा उक्त वस्तु हाम्रो आँखाको दृष्टि पर्दा अर्थात् रेटिनामा आएर फोकस हुने गर्छ । तर मायोपिया भएमा उक्त वस्तु आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा फोकस भएको कारण दृष्टि धमिलो हुने गर्छ ।

विश्वमा अहिले मायोपिया सचेतना सप्ताह मे २२ देखि २६ मे सम्म चलिरहेको छ । यसको अवसरमा नेपाल नेत्र ज्योति संघ अन्तर्गतको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालले एक दिने मायोपिया सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । जसमा कोशी प्रदेश तथा मधेस प्रदेश का नेत्र विशेषज्ञ, दृष्टि विशेषज्ञ तथा नेत्र सहायकहरू गरी करिब २ सय जना सहभागी भएका थिए ।



सूचना प्रविधिको विकास सँगै आम मानिसले आफ्नो दैनिक क्रियाकलापलाई चलायमान बनाउन घण्टौँ सम्म मोबाइल, ल्यापटप, टीभी जस्ता डिजिटल माध्यामहरूमा समय व्यतीत गर्ने परिस्थिति सिर्जना भएको छ । जसले गर्दा आँखाको समस्यामा दिनानुदिन बढोत्तरी हुँदै गइरहेको छ ।

यसरी लामो अवधिसम्म घर बाहिरको वातावरणमा कार्य नगर्दा आँखामा हुने एउटा जोखिमको रूपमा मायोपिया देखा परेको छ । मायोपिया भएको व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । मायोपिया भएमा टाढाको वस्तु हेर्दा आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा फोकस भइरहेको हुन्छ ।



मायोपियाबाट बच्न बच्चाहरूलाई मोबाइलको प्रयोग वाट जोगाउने, दैनिक कम्तीमा २ घण्टा बाहिरी वातावरणमा खेल्ने व्यवस्था मिलाउने तथा समय समयमा नियमितरूपमा आँखा जाँच गराउनु पर्ने बत्ताउँछन् विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ पंकज राय अधिकारी ।

कार्यशाला गोष्ठीमा एल.भी. प्रसाद आई ईन्सिटच्युट, हैदराबाद भारतका डा. पवन भेर्किचर्ला  र स्वपनिल ठाकुर तथा विराटनगर आँखा अस्पतालबाट डा. पवन श्रेष्ठ तथा पंकज राय अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । 

  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार ८:२८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया