इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’को काम सकिएको छ । आयोजनाको काम सकिएसँगै केही समयअघिदेखि परीक्षणका रूपमा इलाम बजारमा खानेपानी वितरण हुँदै आएको थियो ।
काम सम्पन्न भए पनि सन् २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मतसम्भारको काम गर्नुपर्ने जनाइएको छ । नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्षअघि काम सुरु भएको थियो । आयोजनाको काम रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो ।
एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको हो । जुन आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । पाँच प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता रहेको छ । सुरुमा स्थानीय उपभोक्ताले १५ हजार दुई सय रकम बुझाएका थिए । यसमा इलाम नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसेको छ ।
खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड करिब ४३ लिटर पानी आइरहेको छ ।
आयोजनाका लागि सदरमुकामबाट करिब ३२ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइएको हो । आयोजनाअन्तर्गत सुरुमा २ हजार आठ सय ७७ घरमा पानी वितरण गर्ने लक्ष्य लिइएको थियो । पछि थप भएर ३ हजार ३ सय ४४ घरमा आयोजनामार्फत नै खानेपानी वितरण भएको छ ।
पुनः तीन सय बढी उपभोक्ताको सङ्ख्या बढेकाले सो काम हाल भइरहेको बताइएको छ । पछि रकम जम्मा गर्ने उपभोक्ताको घर–घरमा समेत धारा जोड्ने काम भइरहेको जनाइएको छ ।
हालसमेत दैनिक दुईपटक पानी वितरण गरिँदै आइएको निर्माण कम्पनीका इञ्जिनियर कपिलदेव यादवले बताए । हाल कतिपय स्थानमा पानी वितरणमा समस्या उत्पन्न भइरहेको भए पनि यसलाई आफूहरूले मर्मतको काम गरिरहेको उनको भनाइ छ ।
गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गरिँदै छ । उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिएको छ । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।