व्यापार घाटा १२ खर्ब ४ अर्ब, आयात-निर्यात दुवै घट्यो

चालू आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलव  ९ प्रतिशतले कमी आएको छ । योसँगै व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव  ९  प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा निर्यात/आयात अनुपात ९ दशमलव  ८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव  आठ प्रतिशत थियो ।  

चालू आवको वैशाखसम्ममा कूल वस्तु आयात १६ दशमलव ८ प्रतिशतले कमी आई १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५ दशमलव  एक  प्रतिशत, २१ प्रतिशत र १८ दशमलव ६ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम एस विलेट, औषधि, अन्य मेसिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्सलगायतका वस्तुको आयात घटेको छ ।



समीक्षा अवधिमा कूल वस्तु निर्यात २४ दशमलव पाँच प्रतिशतले कमी आई १ सय ३० अर्ब ९० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९ दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो । 

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३ दशमलव ६ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १ सय दशमलव ६ प्रतिशत र आठ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैँचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।



निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । 

आयाततर्फ रसुवा भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । समीक्षा अवधिमा भारतबाट अपरिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब १९ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ८३ अर्ब ९४ करोड रुपैयाँ बराबरको थियो ।

वृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कूल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४ दशमलव  नौ प्रतिशत र ४४ दशमलव पाँच प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगण्य अर्थात् शून्य दशमलव ६ प्रतिशत छ । 

गत वर्षको सोही अवधिमा भएको कूल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.१ प्रतिशत, ०.०२ प्रतिशत र ५२.९ प्रतिशत थियो ।

समीक्षा अवधिमा भएको कूल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३ दशमलव दुई प्रतिशत, पुँजीगत वस्तुको ८ दशमलव ४ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८ दशमलव चार प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ५२ दशमलव आठ प्रतिशत, १० दशमलव  ४ प्रतिशत र ३६ दशमलव ८ प्रतिशत थिए । रासस 

  • प्रकाशित मिति : जेठ २६, २०८० शुक्रबार १५:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया