मधेसका मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिँदै

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव दोस्रोपटक विश्वासको मत लिन लागेका छन् । मंगलबार साँझ ५ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । 

नेकपा एमाले सरकारबाट बाहिरिएको ३० दिन पुगे पनि विश्वासको मत लिन आलटाल गरिरहेका मुख्यमन्त्री यादव कानुनी अड्चनबाट बच्न विश्वासको मत लिन लागेका छन् । 
नेकपा एमाले सरकारबाट बाहिरिएपछि विश्वासको मत लिनुपर्नेमा मुख्यमन्त्री यादवले कुनै मतलब गरेका थिएनन् । 

३० दिनभित्र विश्वासको मत नलिए अदालतमा रिट पर्ने र त्यो मुख्यमन्त्रीको अनुकूल नहुने उनका कानुन व्यवसायीले सल्लाह दिएपछि उनले आकस्मिक बैठक बोलाएर विश्वासको मत लिन लागेका छन् ।

मधेस प्रदेश सरकारको दोस्रो कार्यकालका लागि गत २९ मा शपथ लिएसँगै कार्यभार सम्हालेका मुख्यमन्त्री यादवलाई ४ माघमा बसेको प्रदेशसभा बैठकमा पहिलो पटक १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । 
 
१० दलमध्ये ७ दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।

त्यसपछि गत २१ चैतमा नेकपा एमालेबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीको निर्देशनपछि एमालेबाट मधेस सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका थिए ।

केन्द्रमा एमालेसँग गठबन्धन भत्किएलगत्तै मुख्यमन्त्री यादवले एमालेका मन्त्रीलाई सरकारबाट हटाएका थिए । २९ पुसमा सरकारमा सहभागी भएको एमालेले साढे दुई महिनापछि सरकार छाड्यो । उसले त्यतिबेला सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । त्यसपछि जेठ १ गते सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो । 



यता, सरकारमा सम्मानजनक स्थान नदिएको भन्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले दलको बैठकले सरकार छाड्ने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, ‘हामी जसपा नेतृत्वको मधेस सरकारबाट बाहिरिएका छौँ । तर, सरकारलाई दिएको समर्थन भने तत्काल कायमै राख्ने निर्णय गरेका छौँ । विश्वासको मत पनि दिन्छौँ । मन्त्रालय भागबण्डाका लागि बसेको बैठकमा हामीले दुईवटा मन्त्रालयमा दाबी गरे पनि सहमति जुट्न नसक्दा सरकारबाट बाहिरिएका छौँ ।’



उनले सरकारको नेतृत्व गरिरहेको जसपाले कुनै पनि निर्णय गर्दा एकलौटी गरेको र गठबन्धन दलसँग कुनै सल्लाह नगरि मनोमानी गरिरहेकोले सरकारमा बस्नुको औचित्य नरहेको बताए ।

मुख्यमन्त्री यादवले गत २४ माघमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका थिए ।

  • प्रकाशित मिति : जेठ ३०, २०८० मंगलबार १६:२३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया