जनकपुरधामका युवा : राजनीतिक फोहाेर पखाल्न राजनीतिमै
सचेत, शिक्षित र सक्षम युवाको खोजीमा समाज

पहिले भनिन्थ्यो,‘राजनीतिमा लाग्नु भनेको अन्धकारमा पस्नु,साहित्यमा लाग्नु भनेको फूलबारीमा बस्नु हो ।’ तर, अचेल त्यो परिभाषा बदलिएको छ । अब राजनीतिले नै देशको भविष्य निर्धारण गर्छ र गर्न सक्छ भन्ने विश्वास सुस्तरी पलाउन थालेको छ । 

यो देश युवाहरूको हो र यसलाई बनाउने जिम्मा पनि युवाहरूकै काँधमा छ । देशको हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहास हेर्ने हो भने हरेक इतिहासमा युवाहरूको भूमिका अग्रस्थानमा रहेको पाइन्छ । तर, के ती युवा कस्ता छन् भन्ने कुरामाथि हामीले कहिल्यै आफ्नो ध्यान केन्द्रित गरेका छौँ ? यो देश बनाउन कस्ता युवाहरूको आवश्यकता छ ?

खासगरी सचेत युवाहरूले यस परिभाषालाई आत्मसात गरिसकेका छन् । अहिले देशलाई आलोचनात्मक चेत, मानवीय संवेदना र विवेकको उच्चतम उपयोग गर्न सक्ने युवाको खाँचो छ । हामीले जनकपुरधामबाट दुई युवालाई छनौट गयौँ,राजनीतिक भलाकुसारीका लागि । किशन साह र आदर्श मण्डल फरक–फरक राजनीतिक दलमा आबद्ध रहेर समाज र राष्ट्रको हितमा सोच्न सक्ने ल्याकत राख्छन् । 

पहिले २२ वर्षीय किशन साह सुनौँ, जो विगत ६ वर्षदेखि लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राष्ट्रिय जनता पार्टी,राजपा)मा आबद्ध छन् । उनी सोही पार्टीको विद्यार्थी मोर्चा लोकतान्त्रिक विद्यार्थी संघमार्फत राजनीतिको कखरा सिकिरहेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१ पुल्चोकका किशनले फरकधारलाई सुनाए,‘राजनीति फोहोर भयो भनेर औँला ठड्याएर मात्र युवाको दायित्व पूरा हुँदैन । सचेत युवा र राजनीति सँगसँगै अभिन्न रूपले जोडिएका पाटा हुन् । राजनीति केवल सान, सौकत र पदका लागि मात्र गर्ने होइन । यो त समृद्धिका लागि गर्ने हो । राजनीतिलाई सेवा ठान्ने हो न कि पेसा बनाउने ।’

किशन हरेक क्षेत्रमा अब्बल हुनेको रोजाइ राजनीति हुनुपर्ने बताउँछन् । राजनीतिलाई असल नीतिहरूको नीति बनाउनु आवश्यक रहेको उनको भनाइ छ । हरेक नयाँ पुस्ता पुरानो पुस्ताभन्दा अब्बल हुनैपर्ने र यसका लागि युवापुस्ता राजनीतिमा आउन अपरिहार्य रहेको किशनको जिकिर छ । साथै युवाले गतिशीलता, सिर्जनशीलता र युगसापेक्षतालाई अँगाल्न आवश्यक रहेको उनको भनाइ छ ।
 
राजनीतिमा युवापुस्ता स्थापित भएन भने समाज विकासको गति अवरुद्ध हुने उनी बताउँछन् । समाजले राजनीतिमा युवाको कस्तो भूमिका अपेक्षा गरेको छ र युवाले पनि कस्ता भूमिका निभाएका छन् भन्ने विषयमा युवाले नै सोच्नुपर्ने आवश्यकता रहेको किशनको धारणा छ ।
 
मधेसको अधिकारका लागि आफू राजपा रहेकै बेला राजनीतिमा आबद्ध भएको बताउँदै किशनले सुनाए,‘मधेस आन्दोलनको सेन्टिमेन्ट हेरेर मैले राजनीतिमा होमिने सोच बनाएँ । त्यतिबेला समाजमा राजनीतिज्ञलाई क्रूरको संज्ञा दिइन्थ्यो । नयाँ युवा पुस्तालाई समस्या धेरै थियो । ती सबैलाई छिचोल्दै मैले समाजका लागि राजनीतिलाई सेवाको रूपमा अँगालेको हुँ ।’



किशनले पार्टीको मर्यादालाई कायम राख्दै साथीहरूको सहयोगले समाज परिवर्तनको दिशामा सदैव अग्रसर रहने प्रतिबद्धतासमेत जनाएका छन् । 

हामीले अर्का युवा नेता २१ वर्षीय आदर्श मण्डलसँग केहीबेर छलफल गर्यौं । धनुषाको नगराइन नगरपालिका–६ लगमा गाठागुठी बस्ने २१ वर्षीय आदर्श विगत ६ वर्षदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् । ०७४ मा एसइइ पास गरेका उनी लगत्तै राजनीतिमा होमिए ।
 
हाल उनी जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा बिए एलएलबी तेस्राे सेमेस्टरमा अध्ययनरत छन् । उनकाे पारिवारिक पृष्ठभूमि नेकपा एमालेसँग जोडिएको थियो । तर, पार्टी विभाजनपछि आदर्शको परिवार एकीकृत समाजवादी पार्टीमा आबद्ध छ । उनी पनि सोही पार्टीमा आबद्ध छन् । हाल उनी उक्त पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुमा केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।




 
‘म २०७४ मा एसइई पास भएपछि महात्मा गान्धी छात्रवृत्तिका लागि सिफारिस लिन नगराइन नगरपालिकास्थित वडा नम्बर–६ को कार्यालय पुगेको थिएँ । त्यतिबेला धनवीर मण्डल वडाध्यक्ष हुनुहुन्थ्यो,’ राजनीतिमा लाग्नुको कारणबारे आदर्शले फरकधारलाई सुनाए,‘मैले सिफारिसका लागि पटक-पटक वडा कार्यालय धाउँदा पनि वहाँले मेरो काम गरिदिनुभएन । र, अन्तोगत्वा मैले छात्रवृत्ति पाउन सकिनँ ।’

आदर्शले आफू त्यतिबेलादेखि नै यस भ्रष्ट सिस्टमको विरोध गर्न राजनीतिमा होमिने संकल्प लिएको सुनाउँछन् । देशको राजनीतिक सिस्टम नै भ्रष्टहरूको हातमा रहेकोले सक्षम युवाले चाहेर पनि केही गर्न नसक्ने आदर्शको तर्क छ । 

भ्रष्टाचारलाई जरैदेखि समाप्त पार्न र डिग्री लिएर राजनीति गरे केही उपलब्धि हुन्छ कि भन्ने सोचले अभिप्रेरित भएर अहिले पढाइसँगै राजनीतिलाई पनि अगाडि बढाइरहेको उनको भनाइ छ । 

अध्ययनमा असर परे राजनीतिबाट केही समयका लागि विराम लिएर भए पनि अध्ययन पूरा गरी फेरि राजनीतिमै फर्किने उनको योजना छ । देशलाई सचेत, शिक्षित र सक्षम युवाको आवश्यकता भएकोले आफू सोहीअनुरूप अगाडि बढिरहेको आदर्श बताउँछन् । 
 

  • प्रकाशित मिति : जेठ ३०, २०८० मंगलबार १७:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया