मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए शतप्रतिशत मत

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । आज आकस्मिक रुपमा बोलाइएको प्रदेशसभा बैठकमा उपस्थित कूल एक सय तीन प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्रीको पक्षमा एक सय तीन अर्थात् शतप्रतिशत मतदान भएको छ ।

नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव दोस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री यादवले पहिलोपटक पनि शतप्रतिशत नै मत प्राप्त गरेका थिए । 

यसअघि, प्रदेशसभाका शतप्रतिशत सदस्यको विश्वासको मत पाएका मुख्यमन्त्री यादवले एमाले बाहिरिए पनि सरकारसँग दुई तिहाई सदस्यको समर्थन रहेको भन्दै विश्वासको मत लिन आलटाल गरिरहेका थिए । 

सत्ता गठबन्धनबाट एमाले बाहिरिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । ३० दिनभित्र विश्वासको मत नलिए अदालतमा रिट पर्ने र त्यो मुख्यमन्त्रीको अनुकूल नहुने उनका कानुन व्यवसायीले सल्लाह दिएपछि मुख्यमन्त्री यादवले मंगलबार साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिएका थिए । 

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा एक सय तीन र विपक्षमा शून्य मत खसेको सभालाई जानकारी दिए । एक सय सात सदस्यीय प्रदेशसभामा मंगलबार तीन सदस्य अनुपस्थित थिए । 

सभामुख मण्डलले भने मत विभाजन प्रक्रियामा सहभागिता जनाएनन् । मुख्यमन्त्री यादवले प्रदेशसभाको पहिलो ठूलो दल एमाले र दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएका छन् ।





  • प्रकाशित मिति : जेठ ३०, २०८० मंगलबार २१:४४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया