logo-img

यस्तो छ सुदूरपश्चिमको आर्थिक सर्वेक्षण

सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री नरेशकुमार शाहीले प्रदेश सभा बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।

प्रस्तुत सर्वेक्षण अनुसार सुदूरपश्चिम प्रदेशको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा तीन खर्ब ७६ अर्ब ३३ करोड ३० लाख रुपैयाँ रहने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रदेशको आर्थिक वृद्धिदर १.७८ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर प्रतिशत ४.७८ प्रतिशत थियो । यसै गरी राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेशको योगदान ७ प्रतिशत रहने अनुमान छ । 

सुदूरपश्चिम प्रदेशको आय एक हजार ६३ अमेरिकी डलर रहने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा प्रदेशको आय एक हजार ६० अमेरिकी डलर थियो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म प्रदेश भरी बैंक तथा वित्तीय संस्थाको कुल शाखा ८४३ पुगेको छ । बझाङको साइपाल गाउँपालिकाबाहेक बाँकी सबै (८७) स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेको मन्त्री शाहीले प्रस्तुत गरेको सर्वेक्षणमा उल्लेख गरेको छ ।



नेपाल श्रम शक्ति सर्वेक्षण २०७५÷७६ को प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशको औसत बेरोजगारी दर ११.५ प्रतिशत रहेको छ । २०७९ सालको फागुनसम्म यो प्रदेशका ७३.० प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ । यही अवधिसम्म प्रदेशमा १०८ मेगावाट विद्युत् उत्पादन पुगेको छ ।

२०७९ को फागुनसम्म प्रदेशमा २१ हजार ८५४ उद्योग दर्ता भई ३० अर्ब ६७ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । यसबाट एक लाख एक हजार ४५६ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । प्रदेशमा प्रतिउद्योग रोजगारी दर ४.८ प्रतिशत रहेको छ । 

प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७९ को दफा १६ को उपदफा २ बमोजिम प्रदेश सभामा पहिलो पटक प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत गरिएको छ । चालू आर्थिक वर्षको फागुनसम्म प्रदेश सरकारबाट कालोपत्रे र माटे सडक गरी थप ५९ किलोमिटर सडक निर्माण भएको छ । यो अवधिमा प्रादेशिक र स्थानीय स्तरका सडकको कुल लम्बाई पाँच हजार ६०४ किलोमिटर पुगेको छ । 



राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेशमा २५.२ प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच पुगेको छ । यसै गरी, स्मार्ट फोन प्रयोग गर्ने घरधुरी ६२.७ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म प्रदेशमा एक हजार ५८ सवारी साधन दर्ता भएका छन् । 

प्रदेशमा शैक्षिक सत्र २०७९ सम्म आधारभूत तह (१ देखि ५ कक्षा) सञ्चालन गर्ने विद्यालय सङ्ख्या १० हजार ९०८, आधारभूत तह (१ देखि ८ कक्षा) सञ्चालन गर्ने विद्यालय सङ्ख्या ७०३ पुगेको छ । यसै गरी माध्यमिक तह (१ देखि १० कक्षा) सञ्चालन गर्ने विद्यालय सङ्ख्या ४११ र माध्यमिक तह (१ देखि १२ कक्षा) सञ्चालन गर्ने विद्यालय सङ्ख्या ४४४ रहेका छन् । निजीतर्फ यस्ता विद्यालयको सङ्ख्या क्रमशः १८९, २५५, १७९ र ६७ छ । 



चालु आर्थिक वर्षको फागुनसम्म प्रदेश भरी स्वास्थ्य संस्था सङ्ख्या ६९२ पुगेको छ । जिल्ला र प्रादेशिक अस्पतालमा गरी सञ्चालनमा रहेको शय्या सङ्ख्या ५२६ पुगेको छ । प्रदेश भरी स्वास्थ्य क्षेत्रमा ६ हजार ६६४ जनशक्ति कार्यरत छन् । 

कृषि तथा गैर कृषि क्षेत्रको वृद्धिदर क्रमशः १.६७ प्रतिशत र २.१३ प्रतिशत हुने अनुमान गरिएको छ । प्राथमिक क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर क्रमशः १.६६ प्रतिशत र ३.२४ प्रतिशत रहेको छ । धनात्मक तथा वित्तीय क्षेत्रको वृद्धिदर ०.६४ प्रतिशत ऋणात्मक हुने अनुमान गरिएको छ । 

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म प्रदेशमा दर्ता भएका सहकारी संस्थाको सङ्ख्या ३६५ पुगेको छ । यसै गरी, सोही अवधिसम्म प्रदेशमा बीमा कम्पनीको सङ्ख्या ३०८ पुगेको सर्वेक्षणमा उल्लेख गरेको छ । 

नेपाल मानव विकास प्रतिवेदन २०२० अनुसार यस प्रदेशको मानव विकास सूचक ०.४३१, लैङ्गिक विकास सूचक ०.९०३ र लैङ्गिक असमानता सूचकाङ्कको मापन ०.५२२ रहेको जनाइएको छ । 

चालू आर्थिक वर्षको फागुनसम्म धान बाली उत्पादन ६ लाख ६२ हजार मेट्रिक टन, मकै १०३ मेट्रिक टन र कोदो १७ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । २०७९ को फागुनसम्म प्रदेशमा नौ लाख ९९ हजार २३८ हेक्टर वन क्षेत्र रहेको छ । प्रदेशको कुल भूभागको ४९.२४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको मन्त्री शाहीले प्रस्तुत गरेको सर्वेक्षणमा प्रस्तुत गरेको छ । 

  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार ९:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया