पाँचथर र ताप्लेजुङमा पहिरो : १० जना बेपत्ता, दोभान बजार जोखिममा

अविरल वर्षासँगै गएराति आएको बाढीले पाँचथरमा ६ र ताप्लेजुङमा चारजना बेपत्ता भएका छन् । पाँचथरको हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित ६ जना बेपत्ता भएको फिदम प्रहरीले जनाएको छ ।

बाढीले फिदिम–४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ–३ मा एक र फिदिम–४ माझी टारमा दुई गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । 

बाढीले मेची राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिका जोड्ने हेवा खोलामा आएको बाढीको कारण हेवाखोलाको पुल बगाई मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । याङवरक गाउँपालिका तीन र दुई घर पनि बगाएको छ । 

यस्तै, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनजना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । 

यस्तै, मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुबा-आमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ । 

घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिइन् । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । 



यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिरोले बगाएको छ । अहिले पनि वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् ।

बाढी र पहिरोले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युतसमेत ठप्प छ । 



मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् ।  

दोभान बजार जोखिममा

अविरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी वस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन ।

बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ ।
 
यसैगरी मैवाखोलामा आएको बाढीले दोभान बजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताए । उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामान्यतः घटे पनि पानीको बहाव घटेको छैन । मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् ।

बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ ।  मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको स्थानीयले बताए । रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ । जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो ।

बिहीबार राति मात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो । यहाँका पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन् । 

यसैबीच मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ ।

  • प्रकाशित मिति : असार ३, २०८० आइतबार ७:२७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया