गण्डकी प्रदेशले हालसम्म आधा बजेट पनि खर्च गर्न सकेन

गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९/८० मा आधा बजेट पनि खर्च गर्न सकेको छैन । असार दोस्रो सातासम्ममा कुल बजेटको ४७ दशमलव ५९ प्रतिशतमात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

चालू आवका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष सकिन लाग्दा १७ अर्ब आठ करोड ९२ लाख रुपैयाँमात्र बजेट खर्च भएको हो । असार लागेपछि विकास निर्माणको काम गरी बजेट सक्ने परिपाटी पुरानै समस्या हो । गण्डकीमा चालू आवको असारमा उल्लेख्यरूपमा खर्च बढेको छ । कार्यालयबाट एक दिनमै  १० करोड रुपैयाँसम्म निकासा भएको कार्यालयका लेखा अधिकृत लक्ष्मीकान्त शर्मा पौडेलले जानकारी दिए । 

उनका अनुसार असारमा चालुगत खर्चभन्दा पुँजीगत खर्च बढ्ने गरेको छ । चालू वर्षका लागि विनियोजित बजेटमध्ये असार १२ गतेसम्म चालुतर्फ  छ अर्ब ८६ करोड २० लाख र पुँजीगततर्फ  दश अर्ब २२ करोड ७१ लाख रुपैयाँ खर्च भएको तथ्याङ्क छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रदेशका ११ जिल्लामा अबको १८ दिनमा नौ अर्ब ८४ करोड २५ लाख रुपैयाँ अर्थात् ७० देखि ७५ प्रतिशत बजेट खर्च गर्ने अनुमान गरेको छ । 

सामान्यतः आर्थिक वर्षको बजेट २५ असारसम्म निकासा हुने चलन छ । केही समस्या भएमा निवेदनका आधारमा वा केन्द्रको मन्त्रिपरिषद्को निर्णयका आधारमा असार मसान्तसम्म रकम निकासा लिने पुरानै चलन हो । 

समग्रमा अरु प्रदेशको तुलनामा गण्डकी प्रदेशको खर्च सन्तोषजनक रहेको उनको भनाइ छ । ‘बजेटको सिद्धान्तअनुसार हाम्रो घाटा बजेट हो’, उनले भने, ‘हामीले यहाँ शतप्रतिशत खर्च गर्ने हो भने त हामी घाटामा गइन्छ, त्यसैले यो प्रतिशतको खर्च त्यति नराम्रो होइन ।’ सबैले पहिलो र दोस्रो चौमासिकमा खर्च नै नगर्ने र तेस्रो चौमासिकको पनि असारमै बजेट लिनुपर्छ भन्ने पुरानै प्रवृत्ति रहेको उनले बताए ।

बजेटमा देखिएको असारे विकास रोक्न कार्यालय, उपभोक्ता र निर्माण व्यावसायी मिलेर जानुपर्ने लेखा अधिकृत पौडेलको भनाइ थियो । ‘हाम्रोमा असारे विकास भन्ने शब्द धेरै चर्चामा छ, यसलाई न्यूनीकरण गर्न सबैले साथ दिन जरुरी छ’, उनले भने, ‘यसका लागि कार्यालय, उपभोक्ता र निर्माण व्यवसायीबीच समन्वय गरी समयअनुसार काम गर्ने/गराउने गरे यो समस्यामा कमी आउँथ्यो होला ।’ 





  • प्रकाशित मिति : असार १४, २०८० बिहीबार १२:४५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया