logo-img

आयरल्याण्डविरुद्ध नेपालको प्लेइङ-११ मा दुई परिवर्तनको सम्भावना
फाइल तस्बिर

जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको सातौं स्थानका लागि नेपालले आज टेस्ट टोली आयरल्याण्डसँग खेल्दैछ । नेपाल र आयरल्याण्डबीचको खेल हरारे स्पोर्ट्स क्लबमा दिउँसो १२ः४५ देखि सुरु हुनेछ ।  

प्लेअफमा विजयी भएपछि यी दुई टिमले सातौं स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले प्लेअफमा सेमिफाइनलमा यूएईविरुद्ध ३ विकेटको जित निकाल्दै आयरल्याण्डसँगको भेट पक्का गरेको थियो ।



यस्तै,आयरल्याण्डले सेमिफाइनलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपाल आज आयरल्याण्डलाई हराउँदै सातौं स्थान हासिल गर्न चाहन्छ । आयरल्याण्डविरुद्ध नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ ।  

नेपालले आज अर्जुन साउद र प्रतिश जिसीलाई विश्राम दिएर आसिफ शेख र कुशल मल्ल वा ललितनारायण राजवंशीलाई मौका दिने सम्भावना रहेको हो । यूएईविरुद्ध १३ रनमै आउट भए पनि ज्ञानेन्द्र मल्लले भने निरन्तरता पाउने सम्भावना बढी छ । टोलीको सर्वाधिक अनुभवी खेलाडी भएकाले टेस्ट टोली आयरल्याण्डविरुद्ध उनले निरन्तरता पाउने सम्भावना बलियो रहेको हो ।    



एकदिवसीय अन्तर्राष्ट्रियमा भने नेपाल र आयरल्याण्डले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । हालसम्म नेपालले टेस्ट टोलीविरुद्ध एकदिवसीयमा जित निकाल्न सकेको छैन । यही प्रतियोगितामा नेपालले जिम्बाब्वे र वेस्ट इण्डिजसँग खेल्ने मौका पाएको थियो ।   

समूह चरणको पहिलो खेलमा नेपालले जिम्बाब्वेसँग ८ विकेटको हार बेहोर्दा अमेरिकालाई ६ विकेटले हरायो । तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रन र चौथो खेलमा नेदरल्याण्ड्सँग ७ विकेटले पराजित भयो ।  



यस्तै, समूह ‘बी’ को आयरल्याण्ड पनि तीन खेलमा पराजित भएको थियो । ऊ पहिलो खेलमा ओमानसँग ५ विकेट तथा दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भयो । 

यस्तै, श्रीलंकासँग १ सय ३३ रनले पराजित हुँदा आयरल्याण्डले समूह चरणको अन्तिम खेलमा भने यूएईलाई १ सय ३८ रनले हराएको थियो ।

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, कुशल मल्ल/ललितनारायण राजवंशी र सन्दीप लामिछाने ।  

  • प्रकाशित मिति : असार १९, २०८० मंगलबार ९:४०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया