अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराइँदै

सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिलाई पनि आबद्ध गराउने भएको छ ।  

बुधबारदेखि नै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा दायरा विस्तार गर्नेगरी शुभारम्भ गर्ने कार्यक्रम भएपनि प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको कारण रोकिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गरी  स्वरोजगार र अनौपचारिक क्षेत्रमा रहेका व्यक्तिको कोषमा आबद्धता गराउने प्रक्रिया औपचारिकरूपमा छिट्टै गर्ने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।

उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार रहेका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ सरकारले स्वीकृत गरेको बताए । ज्ञवालीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गर्ने कार्यक्रम रहे पनि विशेष कारणवश हुन नसकेको बताए । 

उनले कोषले सुरुवाती अवस्थामा घरेलु श्रमिक, कृषि क्षेत्रमा काम गर्ने श्रमिक, निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई आबद्ध गराउने योजना रहेको बताए । उनले सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने,स्वरोजगार श्रमिकलाई पारिश्रमिकको ३१ प्रतिशत हुन आउने रकम कोषमा जम्मा गर्ने, ३ गुणासम्म जम्मा गर्नसक्ने व्यवस्था गरेको बताए ।

उनले उक्त व्यवस्था अन्तर्गत श्रमिकहरूलाई औषधि उपचार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता, आश्रित परिवार सुरक्षा योजना लगायत ६० वर्षपछि बाँचुञ्जेल पेन्सनको व्यवस्था गरिएको पनि बताए । कार्यकारी निर्देशक ज्ञवालीले अनौपचारिक क्षेत्रमा श्रमिकको लागि न्यूनतम् आधारभूत पारिश्रमिक २०.३७ प्रतिशत हुन आउने गरी मासिकरूपमा कोषमा जम्मा गरेपछि औपचारिक क्षेत्रका श्रमिक सरह सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको बताए । 

‘नेपाल सरकारले तोकेको पारिश्रमिक जुन छ त्यसलाई आधार मानेर त्यसमा योगदान गने,स्वरोजगार श्रमिकलाई पारिश्रमिकको ३१ प्रतिशत हुन आउने रकम कोषमा जम्मा गर्ने, त्यसमा ३ गुणासम्म जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । त्यो व्यवस्थाअन्तरर्गत श्रमिकहरूलाई औषधि उपचार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता, आश्रित परिवार सुरक्षा योजना लगायत ६० वर्षपछि बाँचुन्जेल पेन्सनको व्यवस्था गरिएको छ,’ ज्ञवालीले भने, ‘अनौपचारिक क्षेत्रमा श्रमिकहरूको लागि न्यूनतम् आधारभूत पारिश्रमिक २०.३७ प्रतिशत हुन आउनेगरी मासिकरूपमा कोषमा जम्मा गरेपछि अगाडिका सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ । अहिले पछिल्लो समय ६ लाख २५ हजारभन्दा बढी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । उहाँहरूले विभिन्न किसिमका सुविधाहरू लिनु भएको छ । कोषले उपलब्ध गराउने सुविधाहरू कतिपय असीमित दायित्व भएकाहरू पनि छन् ।’ 



कार्यकारी निर्देशक ज्ञवालीले कोषले पालिकासँग सम्झौता गर्ने र त्योभित्र आबद्ध भएका विभिन्न क्षेत्रमा काम गरिरहेका अनौपचारिक श्रमिकहरू र स्वरोजगारमा रहेका व्यक्तिलाई पहिचानको आधार, परिचय दिने आधार र सम्भव भएसम्म स–योगदान गरेर त्यसको व्यवस्थापन पनि पालिका स्तरबाटै गर्ने योजना रहेको बताए ।  

उनले अनौपचारिक क्षेत्रमा श्रमिक र स्वरोजगारमा रहेका श्रमिकको लागि योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्धता अनिवार्य नभएको बताए ।  



  • प्रकाशित मिति : असार २७, २०८० बुधबार १७:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया