प्रधानमन्त्री कप क्लब भलिबलमा त्रिभुवन आर्मीको रोमाञ्चक जित

विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले एपिएफमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै जारी सातौं प्रधानमन्त्री कप क्लब भलिबल लिगमा पुरुषतर्फ फाइनलको सम्भावना बलियो बनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार आर्मीले दुई पटक सेटमा पछि परेको अवस्थालाई उल्ट्याउँदै विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि रोमाञ्चक जित निकालेको हो । पहिलो सेट एपिएफले २५–१८ ले आफ्नो बनाएपनि दोस्रो सेट भने आर्मी २५–१६ ले जित्यो । 

एपिएफले फेरि तेस्रो सेट २६–२४ ले आफ्नो बनाउँदै अग्रता लियो । यद्यपि, रोमाञ्चक बनेको तेस्रो सेटमा आर्मीले २८–२६ ले सफलता पायो । एपिएफले एकपटक म्याच पोइन्टको अवसर पाए पनि सदुपयोग गर्न सकेन । उल्टै आर्मीले त्यसको फाइदा उठायो ।

प्रतिष्पर्धात्मक बनेको पाँचौं तथा निर्णायक सेट आर्मीले १७–१५ ले सफलता निकाल्दै महत्वपूर्ण दुई अंक बटुल्यो । लगातार चौथो सफलतासँगै आर्मीले चार खेलबाट ११ अंक बटुलेको छ । समान खेलबाट एपिएफ १० अंकसहित तेस्रो स्थानमा छ । चार नै खेल खेलेको पुलिसको ९ अंक छ । 

पुलिसले बुधबार नै उपाधि दाबेदारका रूपमा हेरिएको टिपटप हेल्प नेपाल क्लबसँग ३–२ ले हार व्यहोरेपछि दोस्रो स्थानमा उक्लिने अवसर गुमाउन पुग्यो । यता, जितपछि भने हेल्प नेपाल चार खेलबाट ११ अंक बटुल्दै शीर्ष स्थानमा यथावत छ ।

सात क्लब सम्मिलित लिगमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्नेछन् । बुधबार हेल्प नेपालले निकै रोमाञ्चक बनेको खेलमा बलियो टोली पुलिसमाथि २५–२०, २०–२५, ३०–२८, १८–२५ र २४–२२ को सेटमा सफलता निकाल्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो । 



बिहीबार आर्मीले पुलिसबिरुद्ध र हेल्प नेपालले एपिएफसँग खेल्नेछ । यी खेलमा जित निकाले आर्मी र हेल्प नेपाल फाइनलमा पुग्नेछ । पुरुषकै अर्को खेलमा सैलुङ बाघढुङ्गा स्पोटर््स क्लवले दावाँली मिलन क्लवलाई ३–२ को सेटमा हरायो । 

सैलुङले दावाँलीलाई २५–१९, १४–२५, २२–२५, २५–२१ र १५–१३ ले पराजित गर्‍यो । यो सफलतासँगै सैलुङले दुई अकं जोड्यो । यी दुवै टोलीको फाइनल पुग्ने सम्भावना यसअघि नै समाप्त भइसकेको छ । महिलातर्फ​ बुधबार भएको खेलमा पुलिसले अन्तिम सेटमा उत्कृष्ट पुनरागमन गर्दै विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि ३–० को सोझो सेटमा सफलता निकाल्दै फाइनलमा स्थान बनाएको छ ।   



तेस्रो सेटको सुवातदेखि नै ८–२ ले पछि परेको थियो । यो सेटमा लगातार दबाब बनाएको एपिएफ २४–२१ को अग्रतासहित म्याच पोइन्टनजिक पुगे पनि सफलता पाउन भने सकेन । उक्त सेटमा पुलिसले एपिएफलाई २५–१६, २५–१५ र २६–२४ ले हराउँदै फाइनलमा स्थान बनायो ।

  • प्रकाशित मिति : असार २७, २०८० बुधबार २०:३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया