बिहारकाे जोगबनी बजारका कारण घट्दै विराटनगरको व्यापार

अधिकांश नेपाली उपभोक्ताले भारतको विहार राज्यमा पर्ने सीमान्त जोगबनी बजारमा गई किनमेल गर्ने गरेका कारण विराटनगर र आसपासको व्यापार घटेको छ । 

जोगबनी बजारबाट सामान किनेर ल्याउँदा नेपालतर्फको भन्सार नाकामा खासै रोकतोक छैन । रोकतोक नहुँदा र सस्तोमा सामान पाइने भन्दै स्थानीय उपभोक्ता सीमान्त जोगबनी बजारमा किनमेल गर्न लालायित हुने गरेका छन् । 

नेपाली उपभोक्ताका कारण नै सो बजार गुलजार बनेको हो । स्थानीय उपभोक्ताको जोगबनी मोहका कारण स्थानीय कारोबारमाथि असर पुगेको महसुस हुन थालेको छ । विराटनगर र आसपासका कतिपय पसलमा बिक्रीका लागि भगवानको पुकारा गर्नुपर्ने अवस्था छ । पसल खोलेर घण्टौँ पर्खंदासमेत ग्राहक नआउने स्थिति छ । 

पसलको बिक्रीबट्टा घट्दा कतिपय व्यवसायीलाई पसलको भाडा, कर्मचारीको तलब तिर्न गाह्रो छ । बेला–बेलामा स्थानीय व्यवसायीले सीमा नाकामा कडाइ गरी स्थानीय व्यापारलाई प्रवर्द्धन र संरक्षण गर्नुपर्ने भनी आवाज उठाउँदा पनि समस्याको हल हुन सकेको छैन । गिर्दो व्यापारका कारण विराटनगरमा कैयौँ सटर पसल भाडामा खाली छन् । विराटनगर र आसपासका बजार चलायमान बन्न नसकेपछि कतिपय व्यवसायीले नचाहेर पनि वैकल्पिक बाटो रोज्नुपर्ने बाध्यता आइपरेको छ ।

सगरमाथा फेन्सी पसलका सञ्चालक अम्बर कटुवालले जोगबनी बजारका कारण स्थानीय व्यापार धरासायी बन्दै गएको बताए । उनले भने, ‘आम उपभोक्तामा जोगबनी मोह छ । त्यहाँ सामान सस्तो पाइन्छ भन्ने धारणा छ, त्यो सही होइन । जोगबनीका सामानको गुणवत्ता र तौलमा तलमाथि हुने गरेको छ र पसल सञ्चालकको व्यवहार पनि रुखो हुने गरेको छ ।’

क्वालिटी किराना पसलका सञ्चालक कमलकुमार अग्रवालले विराटनगरका कतिपय पसलमा बिक्री नहुँदा कर्मचारी कटौती गर्नुपरेको गुनासो गरे । उनले पसलको भाडा तिर्न व्यवसायीलाई अप्ठ्यारो स्थिति आइपरेको बताए । अग्रवालले भने, ‘विराटनगर बजार सुनसानझैँ लाग्छ । उपभोक्ताको खासै चहलपहल छैन । तत्कालका लागि चाहिने सामानमात्र उपभोक्ताले स्थानीय बजारबाट खरिद गरिहाले पनि नुनदेखि सुनसम्मको खरिदका लागि सीमान्त जोगबनी बजार जाने चलनले जरा गाडेको छ ।’ 



अग्रवालले स्थानीय बजारलाई डुब्नबाट बचाउन तीनै तहका सरकारले उपभोक्तालाई सहुलियत हुने नीति ल्याउन आवश्यक रहेको बताए ।  

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले अत्यावश्यक उपभोग्य वस्तुको आयात भन्सार दरलाई परिमार्जित गरी सहुलियत दिइएको खण्डमा त्यस्ता वस्तु सस्तो पर्ने र सीमान्त क्षेत्रका नेपालतर्फको बजारको प्रवर्द्धन हुने बताए । उनले भने, ‘जोगबनीमा दैनिक १० करोडभन्दा बढीको कारोबार हुने गरेको छ । जोगबनी बजार नेपाली उपभोक्तामा निर्भर छ । जोगबनी बजारबाट ल्याइएका सामानको गुणवत्ता र तौलमा शङ्का गर्ने ठाउँ रहन्छ ।’ उनले ९० प्रतिशत जोगबनी र १० प्रतिशत विराटनगर र आसपासका बजारमा कारोबार हुने गरेको बताए ।      



सीमान्त जोगबनी वा भारतका अन्य स्थानबाट नेपाल ल्याइने रु एक सयभन्दा बढीको सामानमा भन्सार कर अनिवार्य लाग्ने व्यवस्थाको कडाइका साथ लागू गरिए आम उपभोक्ताले स्थानीय बजारबाटै किनमेल गर्ने अध्यक्ष रिजालले बताए । 

उद्योग सङ्गठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले सीमा नाकामा कडाइ नगरुञ्जेल स्थानीय उद्योग र व्यापार नफस्टाउने बताए । उनले भने, ‘उपभोक्ता चिनी किन्न भनेर सीमान्त भारतको जोगबनी जाने अनि खुकुलो सीमा नाकाको फाइदा उठाउँदै त्यतैबाट चिनीसँगै तेल घ्यू, लत्ताकपडा लिएर आउने हुनाले स्थानीय उत्पादन र व्यवसायमा सङ्कट आउन थालेको छ ।’ राठीले सीमान्त क्षेत्रमा हुने तस्करी र जोगबनी गई किनमेल गर्ने उपभोक्ताको बानीलाई नियन्त्रण गर्नसके विराटनगर र आसपासका बजार चलायमान हुने बताए ।

यसैबीच स्थानीय बजारको प्रवर्द्धनका लागि आगामी साउन १ गतेदेखि विराटनगर भन्सार नाका कडा पारिने निर्णय गरिएको छ । अब जुनसुकै प्रायोजनका लागि जोगबनी बजारबाट पैठारी गरिने मालवस्तुमा भन्सार कर लगाइने छ । 

विराटनगर महानगरपालिकामा मङ्गलबार सरोकारवालाबीचको छलफलमा राजस्व परिचालन र स्थानीय बजारलाई चलायमान बनाउन विराटनगर भन्सार नाकालाई कडा पारिने निर्णय लिइएको हो । 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक तीर्थबहादुर थापा, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डिबी क्षेत्री र विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले स्थानीय बजारको खरिददारीले अर्थतन्त्रलाई टेवा पुग्ने बताए । उनीहरूले भन्सार नाकामा कडिकडाउ गर्दै उपभोक्तालाई स्थानीय बजारमा किन्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । रासस  

  • प्रकाशित मिति : असार २७, २०८० बुधबार २२:४५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया