सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चाल्छौँ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताएकी छन् । बिहीबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको बताएकी हुन् । 

उनले भनिन्, ‘सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम न्यूनीकरण गर्नु चुनौतीको रूपमा रहेको छ । डिजिटल साक्षरता प्रवर्द्धन गर्ने, र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको छ । सामाजिक सञ्जालको विषयमा गम्भीरतापूर्वक कुरा उठाउनुभएको छ, यसका लागि हामी आगामी आर्थिक वर्षमा कानुनको तर्जुमा गरी सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने ब्यहोरा अवगत गराउन चाहन्छु । विद्युतीय तथ्याङ्कहरूको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गरिने छ । साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी अन्तिम चरणमा पुगेको छ ।’

उनले आगामी आर्थिक वर्षमा कानुन बनाई सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताइन् । उनले विद्युतीय तथ्याङ्कहरूको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गरिने जानकारी दिइन् । त्यस्तै साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको पनि उनले बताइन् । 

उनले भनिन्, ‘सधैँ नीति र कानुन तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गरिनेछ । आम सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार, जबाफदेही, उत्तरदायी र विश्वसनीय बनाउन आवश्यक नीतिगत तथा कानुनी सुधारका लागि विद्यमान ऐन, कानुनमा समसामयिक संशोधन तथा नयाँ तर्जुमा गर्नुपर्ने देखिएको छ । मन्त्रालयसँग सम्बन्धित कानुनहरूको तर्जुमा, संशोधन एवं परिमार्जन गर्न मन्त्रालय योजनाबद्ध रूपमा लागिरहेको कुरा जानकारी गराउन चाहन्छु ।’ 

मन्त्री शर्माले हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७ हजार ९७९ पत्र पत्रिका र ३ हजार ९९० अनलाइन पत्र पत्रिका दर्ता भई सञ्चालनमा रहेको जानकारी दिइन् । गोरखापत्रबाट ३८ भाषा, रेडियो नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट ९ भाषामा समाचार सामग्री प्रकाशन तथा प्रसारण भइरहेको पनि उनले बताइन् ।  





  • प्रकाशित मिति : असार २८, २०८० बिहीबार १४:२०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया