स्टार खेलाडीको रोजाइ बन्दै साउदी प्रो लिग

युरोपेली फुटबलका स्टार अनुबन्धपछि अहिले साउदी अरेबियाको प्रो लिगको चर्चा शिखरमा छ । गत सिजनमा पोर्चुगिज लोकप्रिय फुटबलर क्रिस्टियानो रोनाल्डो अनुबन्धपछि धमाधम युरोपका स्टार प्रो लिगमा जोडिरहेका छन् ।   

रोनाल्डो अनुबन्धितपछि खाडी मुलुक साउदीमा फुटबल खेल्न स्टार खेलाडीको लाइन नै लाग्न थालेको छ । पारिश्रमिक उच्च पाउने भएकाले पनि स्टार खेलाडीको ध्यान अहिले साउदीतिर मोडिएको हो ।  

साउदी लिगमा युरोपबाट आएका खेलाडीले कम्तीमा ९ मिलियनदेखि १ सय ७३ मिलियन पाउन्डसम्म पारिश्रमिक प्राप्त गरिरहेका छन् । यो सिजनको सुरुआतमा थप स्टार खेलाडी प्रो लिगमा जोडिने अनुमान गरिएको छ ।

रोनाल्डोपछि अहिलेसम्म करिम बेन्जेमा, रोबर्टाे फिर्मिन्हो, एनगोलो कान्टे, कालिडोउ कौलिबाली, मार्सेलो ब्रोजोभिक, रुवेन नेभ्स, जोटा, इडुआर्ड मेन्डीलगायत नाम चलेका खेलाडी प्रो लिगमा अनुबन्धित भइसकेका छन्  ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग सम्बन्ध बिग्रिएपछि रोनाल्डो  कीर्तिमानी पारिश्रमिकमा अल नासेरमा अनुबन्धित भएका थिए ।



उनलाई अल नासेरले १ सय ७३ मिलियन पाउन्ड पारिश्रमिक दिँदै आएको छ । यस्तै, यही सिजनमा साउदी आएका फ्रान्सेली स्टार करिम बेन्जेमाको पारिश्रमिक १७२ मिलियन पाउन्ड छ । 



साबिक बालोन डिओर विजेता बेन्जेमा रियल म्याड्रिडसँग सम्झौता सकिएसँगै प्रो लिग विजेता अल इतिहादमा अनुबन्धित भएका हुन् । त्यस्तै, अर्का फ्रान्सेली स्टार एनगोलो कान्टे पनि साउदी प्रो लिगमा अल इतिहादमै अनुबन्धित भइसकेका छन् । 

उनी आगामी तीन वर्षका लागि ८६.२ मिलियन पाउन्डमा प्रो लिग खेल्न तयार भएका हुन् । कान्टे साउदी लिगमा सर्वाधिक पारिश्रमिक पाउने तेस्रो खेलाडी हुन्  ।  

यस्तै, युरोपमा उत्कृष्ट प्रदर्शन गरिरहेका कालिडोउ कौलिबाली प्रो लिगमा अल हिलालको जर्सीमा देखिँदैछन् । उनी ३० मिलियन पाउन्डमा अल हिलालमा अनुबन्धित भएका हुन् । सेनेगलका कप्तानसमेत रहेका कौलिबालीले यसअघि चेल्सी र नापोलीबाट आफ्नो छाप छोडिसकेका छन् । 

युरोपको लिगलाई बिदाई गर्दै साउदी पुगेका अर्का स्टार हुन् ३१ वर्षीय रोबर्टो फिर्मिनो । उनलाई साउदी प्रो लिगका लागि १७ मिलियन पाउन्डमा अल अहलीले अनुबन्धित गरिसकेको छ । ब्राजिलका ३१ वर्षीय फिर्मिनोले अल अहलीसँग तीन वर्षको सम्झौता गरेका छन् ।  

यस्तै, क्रोएसियाकाका स्टार मार्सेलो ब्रोजोभिक पनि साउदीमा व्यावसायिक फुटबल खेल्न तयार छन् । उनी २१ मिलियन पाउन्डमा  अल नासेरमा जोडिसकेका छन् । ३० वर्षीय ब्रोजोभिकले अब सुपरस्टार रोनाल्डोसँगै फुटबल खेल्नेछन् ।  

साउदी प्रो लिगमा अनुबन्धित हुने अर्को ठूलो नाम हो रुवेन नेभ्स । उनी १५.६ मिलियन पाउन्डमा अल हिलालमा अनुबन्धित भएका छन् । पोर्चुगिज यी स्टार इंग्लिस प्रिमियर लिग क्लब उल्भ्स छाड्दै खाडी मुलुक पुगेका हुन् ।  

साउदीले खेलाडी मात्र होइन विश्वस्तरीय प्रशिक्षकलाई पनि धमाधम अनुबन्ध गरिरहेको छ ।

केही दिनअघि मात्र लिभरपुलका भेट्रान स्टेभन जेरार्डलाई प्रो लिग क्लब अल इतिफाकले मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । लिभरपुलका पूर्व कप्तानसमेत रहेका उनलाई साउदी क्लबले आकर्षक रकममा मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

  • प्रकाशित मिति : साउन १, २०८० साेमबार १३:२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया