हाम्रो प्रयास चीन र भारतको सम्बन्ध राम्रो बनोस् भन्ने हुनुपर्छ : सुजाता कोइराला
‘अहिले हामी भूमरीको बीचमा छौँ’

नेपाली कांग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालले भारत–चीनबीचको सम्बन्ध बलियो बनाउने काममा प्रयास गर्नुपर्ने बताएकी छन् । दुई मुलुकबीचको सम्बन्ध राम्रो भए मात्रै नेपालले त्यसबाट लाभ लिन सक्ने भएकाले सरकारले सोहीअनुसारको सम्बन्ध अघि बढाउने कुरामा जोड दिनुपर्ने उनको भनाइ छ ।

नेतृ कोइरालाले नेपालले राष्ट्रिय हितविपरीत कुनै पनि मुलुकको बहकावमा गएर परराष्ट्र सम्बन्ध अघि बढाउन नहुने पनि सचेत गराइन् । उनले विदेशीको प्रभावमा परेर राष्ट्रिय हितको पक्षमा नबोल्ने काम बुद्धिजीवीबाट समेत हुने गरेको पाइएको उल्लेख गर्दै असन्तुष्टिसमेत व्यक्त गरिन् । 

‘अब हामी कहाँ दुईवटा देश छ– चाइना र भारत । यी देशलाई तपाई तरुल भन्नुस् वा हात्ती भन्नुस् । विपीले हात्ती भन्नुहुन्थ्यो । गिरिजाबाबुले सुनको खानी भन्नुहुन्थ्यो । दुईटा सुनखानीको बीचमा छौँ हामी भन्नु हुन्थ्यो । तपाईँले जे भने पनि यो दुईवटै देशसँग हामीले सम्बन्ध राम्रो बनाउनुपर्छ,’ सोमबार त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) ले कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा कोराइलाले भनिन्, ‘हाम्रो प्रयास हुनुपर्छ कि चीन र भारतको सम्बन्ध राम्रो बनोस् भन्ने कुराको हाम्रो प्रयास हुनुपर्छ । हामी फेरि प्रभावित भएर उनीहरूको डिस्टयान्स बढाइ दिने काम हामीले गर्नु हुँदैन । हामीले दुईटा मुलुक जति नजिक हुन्छन् । जति एक हुन्छन्, नेपाललाई त्यति फाइदा छ । नेपालको विकास हुन्छ । नेपाल त सुनमा सुगन्ध भएर जान्छ । त्यसले गर्दाखेरी आफ्नो कन्ट्रीको इन्ट्रेष्ट हेर्नुपर्‍यो । कसैको बहकावमा हामी जानु भएन ।’  

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले नेपाल भूराजनीतिक चपेटामा फस्दै गएको उल्लेख गर्दै त्यसबाट मुक्त हुने खालको परराष्ट्रनीति नीति बनाउने काममा पहलकदमी लिन परराष्ट्रविद्हरूलाई आग्रह गरे । उनले बीआरआई, एमसीसीजस्ता परियोजना नेपालको हितमा नभएको दावी गर्दै त्यसले पार्ने असरबारे नेपाल सचेत हुनुपर्नेमा जोड दिए । 

नेता कार्कीले नेपालले विश्व अर्थ व्यवस्था र विश्व राजनीतिबारे गहिरो अध्ययन गरी सोहीअनुसारको परराष्ट्र सम्बन्धलाई अघि बढाउने कुरामा ढिलाई गर्न नहुने बताए । ‘यो विआरआइको बारेमा, एमसीसीको बारेमा पनि जो कुरा आइराखेको छ । यो कुराको झलक देखाउनु भएको छ उहाँले । अब हामी कति खतरनाक ढंगले जिइयो स्ट्राटिजीमा नेपाल फस्दैछ भन्ने कुरा । हिजोको शीत युद्ध त रुस र अमेरिकाको थियो । त्यसको अलिअलि छिटा मात्रै यहाँ पस्दथ्यो । तर, अहिले त हामी भुमरीको बीचमा छौँ,’ कार्कीले भने, ‘यस्तो भुमरीको अवस्थामा भएको हुनाले नेपालले स्टयान्ड गर्नु पर्छ । र, त्यसो गर्नका लागि विमर्शहरू गर्नुपर्छ । नागरिक समाज पनि कमजोर छ । र, अहिले विकसित भएको विश्व राजनीतिक, विश्व अर्थ व्यवस्था जसरी अगाडि बढ्दैछ । त्यसलाई गहिरो गरी अध्ययन गरौँ । छलफल गरौँ ।’

उनले भारत र चीनबीच नेपालले सुमधुर सम्बन्ध कायम राखेर जानुपर्नेमा पनि जोड दिए । 





  • प्रकाशित मिति : साउन १, २०८० साेमबार १४:४०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया