समाजवादी मोर्चा कसको लागि बनेको हो छलफल गर्न जरुरी छ : शेखर कोइराला
‘केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज हुुनुपर्छ’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समाजवादी मोर्चाको सम्बन्धमा प्रश्न उठाएका छन् ।    

आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले सत्तारुढ गठबन्धनभित्रैका दलहरूले बनाएको समाजवादी मोर्चा कसको लागि बनेको हो भनि प्रश्न गरे । उनले गठबन्धनभित्र अर्को गठबन्धन बनेको भन्दै त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे । 

‘हामी गुटभित्र पनि उपगुट भनेर भन्छौँ नेपाली कांग्रेसभित्र । हामीहरूको गठबन्धनभित्र पनि अर्को गठबन्धन बनेको छ । समाजवादी मोर्चा, त्यो कसको लागि बनेको हो त्यतातिर अब हामीले छलफल गर्न जरुरी छ । भ्रष्टाचार र सुशासन दुईविपरीत दिशामा हिँड्छन्,’ कोइरालाले भने, ‘कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरे जनताको घरदैलोमा गएर भोट माग्न सक्ने अवस्था हामीसित छैन ।’ 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय तहमा देशको छवि धुमलिएको भन्दै यस विषयमा सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताए । कोइरालाले यस केन्द्रीय समिति बैठकले पारदर्शिता र सुशासनको पक्षमा उभिनसक्ने नैतिक बल दिने विश्वास पनि व्यक्त गरे ।  

‘भुटानी शरणार्थी प्रकरण अत्यन्त संवेदनशील र पेचिलो विषय बनेर गएको छ । यस विषयमा केवल भावनामा बगेर हलुका टिप्पणी गरेर पन्छिनसक्ने अवस्था पनि छैन । यो प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको छवि धुमलिएको छ,’ कोइरालले भने, ‘यसमा हामी सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता पनि मैले देखेको छु । यस विषयमा यो केन्द्रीय समितिले पारदर्शिता र सुशासनको पक्षमा उभिनसक्ने नैतिक बल दिनेछ भन्ने मैले विश्वास पनि लिएको छु ।’

उनले संसदबाट दण्डहिनतालाई प्रश्रय दिने कानुन बन्न थालेको पनि आरोप लगाए । कोइरालाले राज्यका जिम्मेवार निकायकै कारण देशमा पछिल्ला दिनमा दण्डहीनता बढेर गएको उल्लेख गरे । उनले नीतिगत रुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइराखेको बताउनु भयो । 



कोइरालाले हाल संसदमा रहेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गर्नुपर्ने बताए । यो विधेयक पारित भएमा दण्डहीनताले संस्थागत रूप लिने उनको भनाइ छ ।

‘मलाई सबभन्दा चिन्ता लागेको के हो भने नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो । दण्डहीनतालाई हामीहरूले प्रश्रय गर्ने कानुनहरू बनाउन थालेका छौँ । राज्यका जिम्मेवार निकायहरूकै कारण देशका पछिल्ला दिनहरूमा दण्डहीनता बढेर गएको छ । नीतिगत रुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइराखेको छ,’ कोइरालाले भने, ‘हाल संसदमा रहेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गरिनुपर्छ । यो विधेयक संसदबाट पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिन्छ । जनता दण्डहीनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहन्छन् ।’



उनले महामन्त्री गगन थापाले प्रस्तुत गरेको संगठनात्मक कार्यतालिकामा प्रदेशलाई छुटाइएको पनि बताए । कांग्रेस समावेशी पार्टी भए पनि कार्यतालिका भने क्याडरबेशमा गएको कोइरालाको टिप्पणी छ । उनले आगामी २०८४ सालको निर्वाचन कांग्रेस एक्लैले लड्नुपर्ने पनि बताए ।  

‘महामन्त्रीजीको संगठनात्मक कार्यतालिकाको बारेमा सरसर्ती हेर्दा सुन्दा राम्रै लाग्छ । तर हामीहरूले एउटा कुरा बुझ्नुपर्ने छ कि के हो यो ? नेपाली कांग्रेस मास बेस पार्टी हो कि क्याडर बेस पार्टी हो भनेर ? छलफल गर्ने बेला आयो कि जस्तो लाग्छ । किनभने कार्यतालिका एकदमै क्याडर बेसमा गएको जस्तो मैले आभास पाइराखेको छु,’ कोइरालाले भने, ‘सँगसँगै महामन्त्रीज्यूको कार्यतालिकामा प्रदेशलाई इग्नोर गरेको त म भन्दिनँ । छुटेको होला । प्रदेशलाई समावेश गरिकन, समन्वय गरेर जिल्लाहरूमा जानुपर्छ । यो बैठकबाट हामीहरू प्रण गरौँ हामीहरू २०८४ मा एक्लै चुनाव लड्छौँ । र हामी स्थानीय तह, प्रदेश र केन्द्रमा जित्छौँ भन्ने प्रण गरेर अगाडि बढौँ । जनताको अपेक्षा स्थानीय सरकारमा भएका हाम्रा साथीहरू, प्रदेशमा भएका हाम्रा साथीहरू र केन्द्रमा भएका हाम्रा साथीहरूको अपेक्षा अत्यन्त बढेर गएको छ ।’
 
उनले प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै समानुपातिक, समावेशी सुनिश्चिता गर्नुपर्ने र त्यसको पहल कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए । 

  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार १४:२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया