पालिकावासी सोध्छन्- खै प्रगति विवरण ? अध्यक्ष चलाउनेको जवाफ : हातहातमा पुर्याउँछु
‘कतै नयाँ-पुराना मिलेर भ्रष्टाचार त गरिरहेका छैनन् ?’

देशका अधिकांश स्थानीय तहले आफ्नो वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गरिसकेका छन् । तर, केही स्थानीय तहले भने अझै आफ्नो कार्य प्रगति विवरण सार्वजनिक गरेका छैनन् । 

बझाङको छबिसपाथिभेरा गाउँपालिकाले पनि अहिलेसम्म गत आर्थिक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छैन । धेरै पालिकाले एक बर्से कार्यकाल पूरा भएलगत्तै प्रगति विवरण सार्वजनिक गर्दा छबिसले भने आर्थिक वर्ष सकिँदासम्म पनि प्रगति विवरण सार्वजनिक नगरेको हो । 

पालिकावासी आफ्नो जनप्रतिनिधिले एक वर्षको अवधिमा के–के काम गरे भनेर थाहा पाउन उत्सुक छन् । तर, पालिकाले प्रगति विवरण सार्वजनिक नगर्दा स्थानीयले जनप्रतिनिधिप्रति असन्तुष्टि पोख्न थालेका छन् । 

‘एक वर्षको अवधिमा गाउँपालिकाको नयाँ नेतृत्वले के–के गर्‍याे अहिलेसम्म जानकारी छैन । सामाजिक सञ्जालमा पनि प्रगति विवरण देखिँदैन । नत पत्रकार सम्मेलनकै आयोजना गरेर प्रगति विवरण सार्वजनिक भएको जानकारी पायौँ,’ छबिसपाथिभेरा गाउँपालिका–७ का स्थानीय किशोर बोहराले भने । 

समयमै आफूले गरेको कामको प्रगति विवरण सार्वजनिक गर्न नसक्नुले जनप्रतिनिधिले काम गर्न नसकेको प्रष्ट देखिएको उनको टिप्पणी छ । ‘राम्रो काम गरेको भए पो प्रगति विवरण पनि छिटो सार्वजनिक गर्थे होला । एक बर्से कार्यकाल पूरा भएको दुई महिना सकिँदासमेत प्रगति विवरण सार्वजनिक नगर्नुले उनीहरूले काम गर्न सकेनन् भन्ने बुझ्नुपर्ने भएको छ,’ बोहराले भने ।



यस्तै, अर्का स्थानीय ईश्वर कठायतले ‘एक वर्षमा के–के गर्नुभयो’ भयो भन्दै पालिका अध्यक्ष बसन्त चलाउनेसँग प्रगति विवरण माग गरेका छन् । साथै, पालिकावासीले निर्वाचनका बेला जनप्रतिनिधिले गरेका प्रतिवद्धताको हिसाब खोज्न थालेका छन् । गाउँपालिका अध्यक्ष चलाउनेले निर्वाचितलगत्तै केही काम तत्काल गर्ने आश्वासन दिए पनि अहिलेसम्म देखिनेगरी काम नभएको पालिकावासीको गुनासो छ ।

 



‘चुनावको बेला बनाएका घोषणापत्रका बुँदाहरू कतिसम्म गर्न भ्याइयो ?,’ अध्यक्ष चलाउनेसमक्ष स्थानीय सुनील बोहराको प्रश्न छ । नयाँ नेतृत्वले भ्रष्टाचार र अनियमितताभन्दा  विकास गतिविधिमा ध्यान दिनेमा पालिकावासी आशावादी थिए । तर, जनप्रतिनिधि पुरानै शैलीमा रमाइरहेको र सुशासन कायम गर्नुको साटो भ्रष्टाचार गर्नमा सक्रिय रहेको पालिकावासीको आशंका छ ।    

‘काम गतिलो केही छैन । दिन बिताउनु मात्र हो, विकासको गतिविधि न्यून, भ्रष्टाचार बढी छ,’ स्थानीय अनिलकुमार भण्डारीले भने । पूर्वजनप्रतिनिधि र प्रतिपक्षी दलको बेवास्थाका कारण पनि नयाँ नेतृत्वले मनोमानी तरिकाले काम गरिरहेको पालिकावासीको आरोप छ । 

‘पुराना जनप्रतिनिधिपछि नयाँले केही गर्छन् भन्ने नागरिकमा ठूलो आशा थियो । तर, नयाँ नेतृत्वले पनि राम्रो संकेत देखाएको छैन । अहिलेसम्म आफ्नो कार्य प्रगति विवरणसमेत सार्वजनिक गर्न नसकेको नयाँ जनप्रतिनिधिबाट केही हुन्छ भनेर आशा गर्नु बेकार हो,’ छबिसपाथिभेरा–७ का स्थानीय सागरजंग क्षेत्रीले भने, ‘पूर्वजनप्रतिनिधि र प्रतिपक्षी दलको बेवास्थाका कारण पनि वर्तमान जनप्रतिनिधिले सही बाटो समात्न नसकेको होकी अनुभूति हुँदैछ । पूर्वजनप्रतिनिधिले अहिलेको पालिका नेतृत्वको गतिविधिबारेमा न समर्थन नत विरोध गरेको देखिन्छ । यसरी तटस्थ बसेको देख्दा कतै नयाँ–पुराना मिलेर भ्रष्टाचार त गरिरहेका छैनन् भन्ने आशंका उब्जिएको छ ।’ 

गाउँपालिकाका पूर्वअध्यक्ष अक्कल धामी पनि आफूले वर्तमान नेतृत्वको गतिविधिमा पर्याप्त ध्यान दिन नसकेको स्विकार्छन् । उनले सरसर्ती हेर्दा नयाँ जनप्रतिनिधिको एक बर्से कार्यकाल सन्तोषजनक नरहेको पनि बताए । 

‘नयाँ जनप्रतिनिधिको मूल्यांकन मैलेभन्दा जनताले गर्ने हुन् । मत अब केवल पार्टीको कार्यकर्ता हुँ । पार्टीको कार्यकर्ता भएका नाताले सरकार वा पालिका नेतृत्वको कमजोरी देखाउनु स्वाभाविक हो,’ पूर्वअध्यक्ष धामीले भने, ‘यस विषयमा म न विरोध गर्न चाहन्छु नत समर्थन नै । तर, एउटा कुरा हामीले अघि सारेका दीर्घकालीन योजनालाई भने निरन्तरता नदिएको सुनिएको छ । पालिकाले राम्रो काम गर्नुपर्छ ।’ 

छबिसपाथिभेरा गाउँपालिका नेपाली कांग्रेसका सभापति पाण्डव थापा जनप्रतिनिधिले अब गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षको कार्यक्रममा ध्यान दिनुपर्नेमा जोड दिन्छन् । उनले पहिलो आर्थिक वर्ष जनप्रतिनिधिका लागि सिकाइको रूपमा हेरिएको बताए । यद्यपि चालू आर्थिक वर्ष भने जनप्रतिनिधिको लगि परीक्षा रहेको थापाको भनाइ छ ।

छबिसपाथिभेरा गाउँपालिका कांग्रेस सभापति पाण्डव थापा

‘नयाँ जनप्रतिनिधिको पहिलो एक वर्ष सिकाइकै रूपमा बित्यो । चालू आर्थिक वर्षदेखि भने उनीहरूको क्षमता थाहा हुनेछ । गाउँपालिका अब विकासको यात्रामा अगाडि बढ्न आवश्यक छ । त्यसका लागि एक जनाले मात्र आँटेर हुन्नँ । हामी सबैको समर्थन चाहिन्छ,’ सभापति थापाले भने, ‘जनप्रतिनिधिको इच्छाशक्ति भएमा जनसमर्थन जुटाउन गाह्रो छैन । विकासमा जनसहभागिताका साथ अगाडि बढेमा पालिकाको मुहार परिवर्तन गर्न सकिन्छ । त्यसतर्फ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष सबैको ध्यान पुग्न आवश्यक छ । जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको समन्वय हुन पनि त्यत्तिकै महत्वपूर्ण छ ।’ 

जवाफ दिन आनीकानी गर्छन् गाउँपालिका अध्यक्ष

छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले निर्वाचनअघि आफू विजयी भएमा तत्काल गर्नुपर्ने कामको सूची नै बनाएका थिए । विशेषगरी उनले भाँडेबजारदेखि गाउँपालिका कार्यालयसम्म पिच सडक निर्माण, गाउँपालिकाको अवस्थाको बारेमा सूक्ष्म अध्ययन, अपाङ्गता, जेष्ठ नागरिक, दीर्घ रोगी, बेसहारासहित समाजमा पछाडि परेका समुदायका नागरिकको तथ्याङ्क संकलन गर्ने प्रतिवद्धता जनाएका थिए । तर, अध्यक्ष चलाउनेले एक वर्षको अवधिमा यीमध्ये अधिकांश प्रतिबद्धता पूरा गर्न सकेनन् । 

उनी आफूले पहिलो वर्षमा गरेका कामको विवरण सार्वजनिक गर्न पनि आनाकानी गरिरहेका छन् । पटकपटक कार्यप्रगति विवरण मागका लागि सम्पर्क गर्दा उनको एउटै जवाफ हुन्छ, ‘एक महिनापछि गाउँपालिकाको प्रगति विवरणसहितको पुस्तक तपाईँको हातमा आइपुग्छ ।’ 

गाउँपालिका अध्यक्ष बसन्त चलाउने

अध्यक्ष चलाउनेले केही दिनअघि पनि एक महिनाअघिकाे फोन संवादकै कुरा दोहोर्याए । ‘यो वर्ष छबिसपाथिभेरा गाउँपालिकाले गरेको कामको विषयमा सानो–सानो अंशमा उत्तर दिइरहनुभन्दा पनि एक वर्षको हामीले गरेको कार्यकालको बुकलेट तपाईँको हातमा उपलब्ध गराउनेछौँ,’ उनले सञ्चारकर्मीसँग भने । 

  • प्रकाशित मिति : साउन ८, २०८० साेमबार १८:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया