logo-img

म्याग्दीको उजलामा पहिरोले पैदलमार्ग बगायो, सिम्कोश र बगर गाउँ नाकाबन्दीमा

म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविर, चक्रीय पदमार्ग र सिम्कोश बगर गाउँ जोड्ने पदमार्ग पहिराले बगाएको छ ।  

नाउराको भिरमा पर्ने उजलामा बुधबार दिउँसो खसेको पहिरोले करिब ५० मिटर पैदलमार्ग बगाएपछि सिम्कोश बगर, धौलागिरि आधार शिविर र चक्रीय पदमार्गमा आवतजावत बन्द भएको हो । सडक सुविधा नपुगेको सिम्कोश–बगर म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम वस्ती हो ।

बगरका बासिन्दासमेत रहेका वडासदस्य हरिप्रसाद तिलिजाले पहिरोले पैदलमार्ग बगाएपछि बगर गाउँमा आवतजावत बन्द भएको जानकारी दिए । ‘बगर र सिम्कोश गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ,’ उनले भने, ‘बगर हुँदै धौलागिरि आधार शिविर, हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्गमा जाने पर्यटकका साथै सिम्कोश बगर गाउँमा आवतजावत बन्द भएको छ ।’   



पदमार्ग बगाएपछि बगर गाउँमा पुग्ने र गाउँबाट बाहिर जान सकेका छैनन् । गाउँ बाहिरको विद्यालय र क्याम्पसमा पढ्ने विद्यार्थी समस्यामा परेका छन् । बिरामीलाई अस्पताल पुग्न महँगो खर्च गरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । 

धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बगर पुग्ने वैकल्पिक पदमार्ग पहिचान र मर्मत गरी आवतजावत सहज बनाउन पहल गर्ने बताए । घोडेटो बाटो बन्नुअघिको पुरानो गोरेटोबाटो मर्मत गर्न प्राविधिक टोलीलाई अध्ययनमा पठाउने उनले बताए । 

धौलागिरि चक्रीय पदमार्गमा पर्ने नाउराको भिरमा द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको पदमार्ग निर्माणको काम वि.सं २०६३ मा नेपाली सेनाले पूर्णताः दिएको थियो । 



पदमार्ग बनेपछि बगर हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म खच्चर पुग्न थालेका थिए । रासस  



  • प्रकाशित मिति : साउन ११, २०८० बिहीबार ८:३८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया