logo-img

यी हुन् नेपालमा बढी आयात हुने वस्तु

आर्थिक वर्ष ०७९–८० मा आयात ३ खर्बले ओरालो लागेको छ । असार मसान्तसम्म १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात हुँदा १ खर्ब ५७ अर्ब रुपैयाँको मात्र निर्यात भयो । यो आव ०७८–७९ को तुलनामा १६.०८ प्रतिशत आयात कम हो । सो आवमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको आयात भएको थियो ।

वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.१२ प्रतिशत हुँदा निर्यातको हिस्सा मात्र ८.८८ प्रतिशत छ । यसले वैदेशिक व्यापारमा निर्यातको हिस्सा झनै कमजोर बनिरहेको देखाएको छ । पछिल्लो समय नेपालभित्र उत्पादन गर्न सकिने वस्तु तथा सेवामा पनि परनिर्भरता बढ्दै गएको छ । 

१. पेट्रोलियम पदार्थमा मात्र विदेशियो दुई खर्ब 



पछिल्लो समय मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष ०७९–८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपैयाँबराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यास) आयात भएको छ । अघिल्लो आर्थिक वर्ष ०७८–७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो । 

त्यतिबेला रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर रुपैयाँको आयात भएको थियो । आर्थिक वर्ष ०७९–८० मा मुलुकमा देखापरेको आर्थिक संकटका कारण आर्थिक गतिविधि चलायमान नहुँदा पेट्रोलियम पदार्थको आयातमा कमी भएको हो । 

२. फलाम तथा स्टिल आयात



दोस्रो नम्बरमा नेपालमा आयात हुने वस्तुहरुमा फलाम र स्टिल रहेको छ । गएको वर्ष १ खर्ब ५३ अर्ब रुपैयाँको फलाम तथा स्टिल आयात भएको छ । आर्थिक वर्ष ०७८–०७९ मा १ खर्ब ८५ अर्ब रुपैयाँको फलाम तथा स्टिल आयात भएको थियो । 

उद्योग स्थापना गर्न आवश्यक वस्तु फलाम तथा स्टिल हो । चलिरहेका कलकारखाना मर्मतसम्भार र विस्तारका लागि पनि फलाम, स्टिल तथा पार्टपुर्जा आवश्यक पर्छ ।



३. मेसिनरी तथा पार्टपुर्जा

तेस्रो नम्बरमा बढी रुपैयाँको आयात हुने वस्तुमा मेसिनरी तथा पार्टपुर्जा रहेका छन् । कारखानादेखि जलविद्युत् आयोजनासम्मका लागि चाहिने यस्ता मेसिनरी आयात गएको वर्ष ९२ अर्ब ८३ करोड रुपैयाँको आयात भएको विभागले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा कमी हो । आर्थिक वर्ष ०७८–७९ मा १ खर्ब ४४ अर्ब रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा आयात भएको थियो । पुँजीगत वस्तुको रुपमा लिइने यस्तो आयातलाई अर्थतन्त्रका लागि दीर्घकालीन रूपमा सकारात्मक रूपमा लिनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । 

४. इलेक्ट्रोनिक र बिजुली उपकरण आयात

त्यस्तै, अर्को धेरै रुपैयाँ खर्च गरेर नेपाल भित्रिने वस्तुमा यातायातका साधन तथा विद्युतीय सामग्री रहेका छन् । आर्थिक वर्ष ०७९–८० मा ५८ अर्ब ८ करोड रुपैयाँको यातायातका साधन तथा विद्युतीय सामग्री आयात भएको थियो । 

आर्थिक वर्ष ०७८–७९ मा यस्तो आयात ६८ अर्ब रुपैयाँको भएको थियो । अघिल्लो वर्षको तुलनामा केही कमी आएको छ । मोबाइल, टिभी यही वर्गमा पर्छन् ।

५. अनाज 

कृषिले नेपालको कुल गार्हस्थ्य उत्पादनको झन्डै एकतिहाइ र कुल रोजगारीको दुईतिहाई प्रतिनिधित्व गर्छ । नेपालको जैविक तथा भौगोलिक विविधताका कारण यहाँ उत्पादनगत विविधताको क्षमता रहे पनि त्यसको उपयोग गर्न सकिएको छैन, जसका कारण नेपालको अर्थतन्त्र उत्पादनभन्दा पनि उपभोग र आयातमुखी बन्दै गएको छ । 

गत वर्ष ५२ अर्ब ६५ करोडको कृषि तथा पशुजन्य वस्तु आयात भएको छ । सरकारले कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यवसायीकरण गरी खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, दूधलगायत वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने बताउँदै आएको छ । तर, आर्थिक वर्ष ०७८–७९ मा भन्दा कम आयात भएको छ । सो अवधिमा ७४ अर्ब २८ करोडको अनाज आयात भएको थियो । किसानलाई कृषिमा आकर्षित गर्न नसक्दा उत्पादन वृद्धि हुन नसकेको विज्ञको भनाइ छ । 

तराईमा उत्पादित खाद्यान्न खुला सीमा हुँदै भारत जाने गरेको तथा नेपालीको खानपान व्यवहारका कारण पनि कृषिजन्य वस्तुको आयात धेरै देखिएको हो ।

  • प्रकाशित मिति : साउन १४, २०८० आइतबार १८:५१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया